काठमाडौं: पोखरामा हरेक वर्ष आयोजना हुँदै आएको लेखनाथ महोत्सवको २२औँ संस्करण आगामी पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी महोत्सवको मिति सार्वजनिक गरेको हो। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित आयोजना हुने यस महोत्सवमा कुल ३ सय ३५ वटा स्टल रहने छन्।
महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक युवराज भण्डारीका अनुसार महोत्सवमा गार्मेन्ट तथा रेडिमेड कपडाका लागि १ सय १२ स्टल छुट्याइएको छ। यसबाहेक कृषि, पशुजन्य वस्तु, किचन सामग्री, हस्तकला, शैक्षिक प्रविधि, डेरी र अटोमोबाइलसहितका विभिन्न विधामा स्टलहरू रहनेछन्। महोत्सवमा औद्योगिक व्यापार मेला, स्थानीय सुन्तला, माछा, मह, कफी र दुग्धजन्य उत्पादनको प्रदर्शनी तथा बिक्री हुनेछ। साथै, गौतम बुद्धको प्रतिमालाई महोत्सवको विशेष आकर्षणका रूपमा राखिनेछ।
स्टल बुकिङका लागि संघका सदस्यहरूलाई मंसिर ७ गतेदेखि र अन्यका लागि मंसिर ११ गतेदेखि खुला गरिएको छ। संघका सदस्यहरूलाई स्टल बुकिङमा २० प्रतिशत र ढुवानीका लागि २ हजार रुपैयाँ छुट दिइनेछ। आयोजकले महोत्सवमा २ लाख ७० हजार दर्शकले अवलोकन गर्ने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरेको छ। प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ, सर्वसाधारणका लागि १ सय रुपैयाँ र पप कन्सर्टका लागि २ सय रुपैयाँ तोकिएको छ।
संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले विषम आर्थिक परिस्थितिका बीच सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय उत्पादनको बजारीकरण गर्न महोत्सव आयोजना गर्न लागिएको बताइन्। उनले निजी क्षेत्रको खस्कँदो मनोबल र लगानीमैत्री वातावरणको अभावबारे चिन्ता व्यक्त गरिन्। महोत्सवबाट २० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको महासचिव भरतराज ओझाले जानकारी दिए। उक्त रकम सात तालको संरक्षण, उद्यमशीलता विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गरिनेछ।
