काठमाडौं: सरकारले प्रस्ताव गरेको उखुको मूल्यमा असहमति जनाउँदै किसानहरूले चिनी उद्योग सञ्चालनमा रोक लगाउने चेतावनी दिएका छन्। उनीहरूले चालु क्रसिङ सिजनका लागि प्रतिक्विन्टल एक हजार ५० रुपैयाँ मूल्य पाउनुपर्ने माग राखेका छन्।
सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा किसान प्रतिनिधि र चिनी उद्योगीबीच दुई चरणमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। सरकारले अनुदानबाहेक जेनेरल भेराइटीको उखुको मूल्य ६५० रुपैयाँ र बढी चिनी उत्पादन हुने जातको लागि ६७५ रुपैयाँ प्रस्ताव गरेको थियो। किसानहरूले भने उत्पादन लागत र बजार मूल्यको अवस्थालाई ध्यान नदिई सरकारले न्यून मूल्य तोकेको भन्दै सो प्रस्ताव अस्वीकार गरेका छन्।
उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले सरकारले उद्योगीको स्वार्थ अनुकूल मूल्य निर्धारण गर्न खोजेको आरोप लगाएका छन्। रायले भने, ‘कृषि मन्त्रालयले उखुको मूल्य निर्धारणका विषयमा हामीलाई दुई पटक वार्तामा बोलायो, तर हाम्रो माग सम्बोधन गर्ने विषयमा सरकार गम्भीर देखिएन। सरकारी टोलीले चिनी उद्योगीको इसारामा किसानलाई मार पर्ने मूल्य तय गर्न खोजिरहेको छ। यस्तो अवस्थामा हामी चुप लागेर बस्दैनौँ, चिनी उद्योग सञ्चालन हुन नदिने गरी आन्दोलनमा उत्रिने तयारी गरिरहेका छौं।’
सरकारले आगामी शुक्रबारको मन्त्रिपरिषद् बैठकमा मूल्य निर्धारणसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेको छ। एकातर्फ उद्योगहरू क्रसिङ सिजनका लागि तयार भए पनि मूल्यमा सहमति नजुटेका कारण उद्योग सञ्चालनमा ढिलाइ भएको छ। यसले उखु बेचेर जीविकोपार्जन गर्ने किसानहरू थप अन्योलमा परेका छन्।
