काठमाडौं: राष्ट्रिय सहकारी महासंघले लुम्बिनीमा तीन दिने ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ आयोजना गर्ने भएको छ। मंसिर २४ देखि २६ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा सहकारी क्षेत्रमा देखिएका समस्या र तिनको समाधानका विषयमा छलफल गरिने महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले जानकारी दिए।
केही सहकारी संस्थाले सदस्यको बचत अपचलन गर्दा सिंगो अभियानमाथि प्रश्न उठिरहेको सन्दर्भमा यो सम्मेलनले समस्या समाधानका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। सम्मेलनमा स्वदेश र विदेशका गरी करिब ६ सय ५० जनाको सहभागिता रहने छ। अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) एसिया प्यासिफिकका अध्यक्ष डा. चन्द्रपाल सिंह यादवसमेत सहभागी हुने उक्त सम्मेलनमा वित्तीय परिचालन, नयाँ प्रविधि, दिगोपन र सहकारीका विविध आयामबारे छलफल हुनेछ।
सम्मेलनले सहकारीमार्फत शान्ति प्रवर्द्धन गर्ने, समावेशी आर्थिक वृद्धि बढाउने र सामाजिक सद्भाव कायम राख्ने विषयमा जोड दिनेछ। साथै, स्थानीय, प्रदेश र संघीय सरकारसँग अन्तरसंवाद गरी सहकारी क्षेत्रको अन्योल चिर्ने र नयाँ गति दिने लक्ष्य राखिएको छ। सम्मेलनमा शान्ति निर्माण, आर्थिक समानता, महिला तथा युवा नेतृत्व, जलवायु परिवर्तन र डिजिटल रूपान्तरण जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुनेछन्।
कार्यक्रमको अन्त्यमा ‘लुम्बिनी घोषणापत्र’ जारी गरिनेछ, जसले सरकार र अन्तर्राष्ट्रिय निकायका लागि नीतिगत सिफारिस गर्ने, विश्व सहकारी शान्ति मञ्च स्थापना गर्ने र सहकारीको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई व्यवस्थित गर्न बन्न लागेको प्राधिकरण ऐनलाई सार्थक बनाउन पनि सम्मेलनले सहयोग पुर्याउने बताइएको छ। सम्मेलनमा सहभागी हुन स्वदेशी सहकारीकर्मीका लागि प्रति व्यक्ति ६ हजार रुपैयाँ र विदेशीका लागि २५० अमेरिकी डलर शुल्क तोकिएको छ।
