पानी मानिसको जीवनका लागि अपरिहार्य आवश्यकता हो। दैनिक जीवनमा यसको विकल्प छैन। तर पानी पिउने बानीलाई नियमित र आकर्षक बनाउने विषयलाई व्यावसायिक अवसरका रूपमा हेर्ने सोच भने सबैमा हुँदैन।
अधिकांश पेय पदार्थ कम्पनीले पानीलाई बोतलमा भरेर बेच्ने, त्यसमा स्वाद मिसाउने वा विभिन्न प्रकारका पेय उत्पादन गर्ने व्यवसायलाई प्राथमिकता दिइरहेका बेला अस्ट्रियाको एउटा कम्पनीले फरक बाटो रोज्यो।
उसले पानी बेचेन। पानी पिउने तरिका नै बदल्ने प्रयास गर्यो।
सन् २०१६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको वाटरड्रपले पानीमा घोल्न मिल्ने साना क्युब उत्पादन गरेर बजारमा प्रवेश गर्यो। ती क्युब पानीमा राखेपछि घुल्छन् र पानीलाई विभिन्न स्वादयुक्त पेयमा बदल्छन्।
उपभोक्ताले आफ्नो बोतलमा पानी भर्ने, आवश्यकताअनुसार क्युब राख्ने र केही समयपछि स्वादयुक्त पानी पिउन सक्ने भए।
यो अवधारणा सामान्य देखिए पनि यसको व्यावसायिक सम्भावना ठूलो थियो। बजारमा पहिलेदेखि उपलब्ध बोतलबन्द पानी र चिनी मिसाइएका पेय पदार्थको विकल्प खोजिरहेका उपभोक्ताका लागि यसले नयाँ अनुभव प्रदान गर्यो। पानी पिउने बानीलाई सहज, स्वादिलो र सुविधाजनक बनाउने यही अवधारणाले वाटरड्रपलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने आधार तयार गर्यो।
वाटरड्रपको कथा एउटा सानो उत्पादनको सफलताको कथा मात्र होइन। उपभोक्ताको दैनिक बानीभित्र लुकेको व्यावसायिक अवसर पहिचान गरेर त्यसलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सकिने उदाहरण पनि हो।
सामान्य समस्याबाट जन्मिएको नयाँ अवधारणा
वाटरड्रपको स्थापना कुनै ठूलो पेय पदार्थ उद्योगको अनुसन्धान परियोजनाबाट भएको थिएन। यसको पछाडि दैनिक जीवनमा देखिएको एउटा सामान्य समस्या थियो।
मानिसलाई पानी पिउनुपर्छ भन्ने थाहा छ, तर धेरैले पर्याप्त पानी पिउँदैनन्। सादा पानीको स्वाद मन नपर्ने, बाहिर हुँदा बोतलबन्द पेय पदार्थ रोज्ने वा नियमित रूपमा पानी पिउने बानी कायम राख्न नसक्ने समस्या व्यापक छ।
संस्थापकहरूले यही व्यवहारलाई व्यावसायिक अवसरका रूपमा हेरे। पानी पिउन प्रोत्साहित गर्ने तरिकामा परिवर्तन ल्याउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्नबाट कम्पनीको अवधारणा विकास भयो।
परम्परागत पेय पदार्थ उद्योगमा स्वाद, प्याकेजिङ र विज्ञापनमार्फत उपभोक्तालाई आकर्षित गर्ने अभ्यास थियो। वाटरड्रपले भने उत्पादनको आकार र प्रयोग गर्ने तरिकामै नवीनता ल्याउने प्रयास गर्यो। ठूलो बोतलमा तयार पेय बेच्नुको सट्टा सानो क्युब बेच्ने र उपभोक्तालाई आफ्नै पानीमा घोल्ने सुविधा दिने विचार अघि सारियो।
यसको पछाडि एउटा व्यावसायिक बुझाइ थियो। उपभोक्तालाई पेय पदार्थ मात्र बेचेर पुग्दैन, उनीहरूको दैनिक व्यवहारमा सहजता र नयाँ अनुभव पनि दिनुपर्छ। पानी पिउन बिर्सने वा सादा पानीबाट दिक्क मान्ने मानिसलाई स्वादको विकल्प उपलब्ध गराउन सकियो भने नियमित पानी पिउने बानीमा सुधार ल्याउन सकिन्छ।
वाटरड्रपले उत्पादनको यही विशेषतालाई आफ्नो पहिचान बनायो। सानो आकार, सजिलो प्रयोग र विभिन्न स्वादको उपलब्धताले यसलाई परम्परागत पेय पदार्थभन्दा फरक बनायो।
कम्पनीले आफ्नो उत्पादनलाई माइक्रोड्रिंक नाम दिएको छ। यसको अर्थ सानो आकारमा उपलब्ध स्वादयुक्त पेयको आधार हो। यी क्युब पानीमा घुल्ने भएकाले उपभोक्ताले आवश्यकताअनुसार स्वादको मात्रा पनि नियन्त्रण गर्न सक्छन्।
यसको अर्को महत्त्वपूर्ण पक्ष बोतलबन्द पेय पदार्थको तुलनामा ढुवानी र भण्डारणमा देखिने सुविधा हो। तयार पेय पदार्थ बोतल वा क्यानमा भरेर बजार पुर्याउनुपर्ने अवस्थामा वाटरड्रपका साना क्युब कम ठाउँमा धेरै परिमाणमा राख्न सकिन्छ। यसले प्याकेजिङ र ढुवानी व्यवस्थापनमा नयाँ सम्भावना सिर्जना गरेको छ।
कम्पनीले उत्पादनलाई केवल स्वादको विकल्पका रूपमा होइन, पानी पिउने दैनिक बानीसँग जोडिएको जीवनशैलीका रूपमा बजारमा प्रस्तुत गर्यो। यही कारण वाटरड्रपको व्यावसायिक पहिचान उत्पादनभन्दा केही फराकिलो बन्न पुग्यो।
तीन संस्थापक र एउटा सानो क्युबको प्रयोग
वाटरड्रपको स्थापना मार्टिन मरे, उनका भाइ हेनरी मरे र साथी क्रिस्टोफ हर्मनले गरेका हुन्। तीनै जनाले मिलेर एउटा यस्तो उत्पादन विकास गर्ने लक्ष्य राखेका थिए, जसले मानिसलाई पानी पिउन प्रेरित गरोस् र बोतलबन्द पेय पदार्थमाथिको निर्भरता घटाउन सहयोग गरोस्।
कम्पनीका प्रमुख संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्टिन मरेलाई यसको अवधारणाको श्रेय दिइन्छ। सन् २०१६ को वसन्त ऋतुमा सिंगापुर जाने विमान यात्राका क्रममा उनलाई एउटा विचार आएको थियो। मानिसले पर्याप्त पानी पिउन किन गाह्रो मान्छन् र पानीमा सजिलै मिसाउन सकिने, स्वादिलो तर चिनी नभएको उत्पादन बनाउन किन नसकिने भन्ने प्रश्नले उनलाई आकर्षित गर्यो।
उनको सोचमा पानी पिउने बानी सुधार्न ठूलो बोतल वा नयाँ पेय पदार्थ आवश्यक थिएन। पानीमा सजिलै घोल्न सकिने सानो उत्पादन भए पुग्थ्यो।
विमानबाट ओर्लिएपछि उनले यो विचार आफ्ना भाइ हेनरी र साथी क्रिस्टोफसँग साझा गरे। तीनै जनाले त्यसलाई व्यावसायिक उत्पादनमा बदल्ने काम सुरु गरे।
मार्टिनको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिले पनि यो अवधारणा विकास गर्न सहयोग गर्यो। उनले भियनाको अर्थशास्त्र तथा व्यवसाय प्रशासन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय व्यवसाय अध्ययन गरेका थिए।
इटालीको बोकोनी विश्वविद्यालयमा रणनीतिक व्यवस्थापन अध्ययन गरे। त्यसपछि फ्रान्सको इनसियाडबाट व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे। वाटरड्रप स्थापना गर्नुअघि उनले बोस्टन कन्सल्टिङ ग्रुपमा परामर्शदाताका रूपमा काम गरेका थिए।
यसले उनलाई बजार, उपभोक्ता व्यवहार, व्यवसायको सम्भावना र उत्पादन रणनीतिबारे व्यावसायिक बुझाइ दिएको थियो। तर राम्रो अवधारणा हुनु र त्यसलाई सफल उत्पादनमा बदल्नु फरक कुरा थियो। त्यसका लागि उनीहरूले लामो समय अनुसन्धान र परीक्षणमा बिताउनुपर्यो।
वाटरड्रपको प्रारम्भिक विकासको सबैभन्दा कठिन काम पानीमा घुल्ने सानो क्युब बनाउनु थियो। फलफूल र वनस्पतिका अर्कलाई सानो आकारमा थिचेर राख्दा त्यसको स्वाद, गुणस्तर र स्थायित्व कसरी कायम राख्ने भन्ने चुनौती थियो। सामान्य पाउडर वा पेय पदार्थको चक्कीभन्दा फरक, उपभोक्ताले पानीमा राख्नेबित्तिकै घुल्ने र प्राकृतिक स्वाद दिने उत्पादन चाहिएको थियो।
कम्पनीका सहसंस्थापकले दिएको विवरणअनुसार अन्तिम उत्पादन तयार गर्ने मेसिन विकास गर्न उनीहरूले करिब तीन वर्ष काम गरेका थिए। यो अवधिमा उत्पादनको बनावट, स्वाद, घुल्ने क्षमता र प्याकेजिङमा लगातार परीक्षण गरियो।
यो काममा समय र स्रोत दुवै खर्च भए। तर संस्थापकहरूले हतारमा बजारमा उत्पादन ल्याउनुभन्दा गुणस्तर र प्रयोगको सहजतालाई प्राथमिकता दिए। उनीहरूको लक्ष्य केवल पानीमा स्वाद मिसाउने वस्तु बनाउनु थिएन। पानी पिउने अनुभवलाई नै नयाँ स्वरूप दिने उत्पादन विकास गर्नु थियो।
सानो क्युब, फरक व्यावसायिक मोडेल
वाटरड्रपको मुख्य उत्पादन माइक्रोड्रिङ्क हो। यो सानो क्युबमा फलफूल र वनस्पतिका अर्क तथा अन्य आवश्यक सामग्री राखिन्छ। उपभोक्ताले करिब ४०० देखि ६०० मिलिलिटर सामान्य वा चम्किलो पानीमा एउटा क्युब राख्छन्। केही समयपछि त्यो पानीमा घुल्छ र स्वादयुक्त पेय तयार हुन्छ।
यसको मुख्य विशेषता तयार पेय पदार्थको सट्टा पेय बनाउन आवश्यक आधार बेच्नु हो। उपभोक्ताले पानी जहाँबाट पनि लिन सक्छन्। कम्पनीले पानीको ढुवानी, ठूलो बोतलको भण्डारण र तयार पेयको शीतभण्डारणमा निर्भर हुनुपर्दैन। सानो क्युबले उपभोक्तालाई आफूले चाहेको समयमा पेय तयार गर्ने सुविधा दिन्छ।
कम्पनीले सुरुमा चिनीविहीन उत्पादनलाई आफ्नो मुख्य विशेषता बनायो। तर चिनी नभएको भन्दै सबै उत्पादनमा कुनै पनि मिठास दिने पदार्थ छैन भन्ने बुझ्नु ठीक हुँदैन।
कम्पनीको आफ्नै उत्पादन विवरणअनुसार केही स्वादमा स्टेभिया वा सुक्रालोज प्रयोग हुन्छ। उत्पादनअनुसार सामग्री फरक हुन सक्छ। यसले वाटरड्रपले स्वास्थ्य र स्वादबीच सन्तुलन खोजेको देखाउँछ।
कम्पनीले पछि उत्पादनको दायरा पनि फराकिलो बनायो। सामान्य स्वादयुक्त क्युबबाट सुरु भएको व्यवसायमा ऊर्जा दिने माइक्रोएनर्जी, इलेक्ट्रोलाइट उपलब्ध गराउने माइक्रोलाइट, पुनः प्रयोग गर्न मिल्ने बोतल, गिलास र पानी छान्ने उपकरण थपिए। यसरी कम्पनी एउटा उत्पादनमा सीमित नभई पानी पिउने अनुभवसँग सम्बन्धित उत्पादनहरूको विस्तृत शृङ्खला निर्माण गर्ने दिशामा अघि बढ्यो।
वाटरड्रपको व्यवसायिक मोडेलमा प्रत्यक्ष उपभोक्ता बिक्री पनि महत्त्वपूर्ण छ। कम्पनीले आफ्नै वेबसाइटमार्फत उत्पादन बेच्न थाल्यो। यसले बजारमा प्रवेश गर्न परम्परागत ठूलो खुद्रा सञ्जालको प्रतीक्षा गर्नुपरेन। अनलाइन बिक्रीबाट ग्राहकको प्रतिक्रिया लिन र नयाँ स्वाद परीक्षण गर्न सहज भयो।
उपभोक्ताले कुन स्वाद रुचाउँछन्, कुन उत्पादन दोहोर्याएर किन्छन् र कुन प्याकेजिङ उपयोगी ठान्छन् भन्ने जानकारी कम्पनीले प्रत्यक्ष रूपमा प्राप्त गर्न सक्ने भयो। यसले उत्पादन विकास र बजार रणनीति सुधार्न मद्दत गर्यो।
तर अनलाइन बिक्री मात्रै पर्याप्त थिएन। स्वाद र घुल्ने प्रक्रियामा आधारित उत्पादन उपभोक्ताले प्रत्यक्ष परीक्षण गर्न पाए अझ राम्रोसँग बुझ्न सक्थे। यही कारण वाटरड्रपले अनलाइन कारोबारसँगै भौतिक पसल र खुद्रा साझेदारीलाई पनि विस्तार गर्यो।
आलोचनाबाट अवसरसम्मको बजार यात्रा
सन् २०१७ वाटरड्रपका लागि पहिलो व्यावसायिक वर्ष थियो। उत्पादन तयार भएपछि कम्पनीले आफ्नै अनलाइन पसल सञ्चालनमा ल्यायो। भियनामा अस्थायी बिक्री केन्द्र पनि खोलियो। उपभोक्ताले प्रत्यक्ष रूपमा उत्पादन चाख्ने र प्रतिक्रिया दिने अवसर पाए।
तर सुरुवाती प्रतिक्रिया सबै सकारात्मक थिएनन्। उत्पादनको मूल्य, स्वाद र प्रयोगसम्बन्धी प्रश्न उठे। कम्पनीले अपेक्षा गरेजस्तो तत्काल ठूलो बिक्री प्राप्त गर्न सकेन। उत्पादनको नवीनता बजारका लागि नयाँ भएकाले उपभोक्तालाई यसको प्रयोग र फाइदा बुझाउनुपर्ने चुनौती थियो।
अस्ट्रियाको उद्यमशीलता तथा नवप्रवर्तनसम्बन्धी पुरस्कार प्रदान गर्ने संस्थाले प्रकाशित गरेको विवरणअनुसार सन् २०१७ मा पहिलो अनलाइन बिक्री निकै सानो थियो र ग्राहकको प्रतिक्रिया पनि आलोचनात्मक थियो। तर संस्थापकहरूले उत्पादन सुधार्न र ग्राहकसँग संवाद गर्न निरन्तरता दिए।
सन् २०१८ मा वाटरड्रप जर्मन टेलिभिजनको उद्यमशीलता कार्यक्रम ‘डी होले देर ल्योवेन’ मा सहभागी भयो। यो कार्यक्रममार्फत कम्पनीले जर्मनभाषी बजारमा व्यापक चर्चा पायो। उत्पादनको नयाँ अवधारणा, सानो आकार र प्रयोगको सहजताले उपभोक्ताको ध्यान आकर्षित गर्यो। त्यसपछि कम्पनीको उत्पादन आफ्नै अनलाइन पसलभन्दा बाहिरका खुद्रा पसलमा पनि पुग्न थाल्यो।

त्यसपछि वाटरड्रपले अस्ट्रिया र जर्मनीको बजारमा मात्र सीमित नरही युरोपका अन्य देशमा विस्तार गर्ने रणनीति अघि बढायो। सन् २०१९ मा विभिन्न युरोपेली देशमा अनलाइन पसल सञ्चालन गरियो। उत्पादनका नयाँ स्वाद पनि बजारमा ल्याइए। यही वर्ष कम्पनीले माइक्रोएनर्जी उत्पादन शृङ्खला सुरु गर्यो।
सन् २०२० मा कम्पनीले आफ्नै उत्पादन प्रक्रियालाई थप नियन्त्रणमा लिने निर्णय गर्यो। उत्पादनको गुणस्तर, आपूर्ति र बजारको मागअनुसार उत्पादन क्षमता व्यवस्थापन गर्न यो महत्त्वपूर्ण थियो। सोही वर्ष भियनामा पहिलो प्रमुख स्थायी पसल खोलियो। यसले कम्पनीको अनलाइन कारोबारलाई प्रत्यक्ष ग्राहक अनुभवसँग जोड्ने नयाँ अध्याय सुरु गर्यो।
वाटरड्रपले यसपछि एउटा महत्त्वपूर्ण व्यावसायिक रणनीति अपनायो। उत्पादनको बजार विस्तार गर्दा डिजिटल कारोबार, आफ्नै पसल र अन्य खुद्रा साझेदारलाई एकअर्काको विकल्पका रूपमा होइन, परिपूरक माध्यमका रूपमा प्रयोग गर्यो।
अनलाइन माध्यमले ग्राहकको ठूलो समूहसम्म पुग्न सहयोग गर्यो। आफ्नै पसलले ब्रान्डको अनुभव दिलायो। खुद्रा साझेदारले पहिलेदेखि स्थापित ग्राहक सञ्जालमार्फत उत्पादनलाई नयाँ बजारमा पुर्याए। यही बहुमाध्यमीय बिक्री प्रणालीले कम्पनीको अन्तर्राष्ट्रिय विस्तारलाई गति दियो।
अमेरिकाको विशाल बजारमा प्रवेश
युरोपमा स्थापित हुँदै गएको वाटरड्रपले आफ्नो अर्को लक्ष्य अमेरिकालाई बनायो। अमेरिकी बजार विश्वकै ठूलो उपभोक्ता बजारमध्ये एक हो। त्यहाँ पेय पदार्थको प्रतिस्पर्धा अत्यन्त तीव्र छ। ठूला कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न नयाँ ब्रान्डका लागि वितरण सञ्जाल, बजारमा पहुँच र उपभोक्ताको विश्वास निर्माण गर्नु सजिलो हुँदैन।
वाटरड्रपले अमेरिकामा प्रवेश गर्दा यही चुनौती सामना गर्नुपर्यो। युरोपमा सफल भएको उत्पादन अमेरिकी उपभोक्ताले पनि रुचाउँछन् भन्ने निश्चित थिएन। त्यसैले कम्पनीले अनलाइन बिक्रीसँगै ठूला खुद्रा व्यापारिक सञ्जालमा आफ्नो उत्पादन पुर्याउने रणनीति लियो।
सन् २०२३ मार्चमा कम्पनीले अमेरिकाका वालमार्ट र टार्गेटका हजारौँ पसलमा आफ्ना उत्पादन उपलब्ध गराउने घोषणा गर्यो।
पहिलो चरणमै वालमार्टका २ हजार ५१ र टार्गेटका १३० पसलमा उत्पादन पुर्याउने योजना सार्वजनिक गरियो। त्यसबेला कम्पनीले अमेरिकामा तीन हजारभन्दा बढी पसलमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य अघि सारेको थियो।
यो विस्तार वाटरड्रपका लागि महत्त्वपूर्ण उपलब्धि थियो। युरोपको एउटा नयाँ उत्पादन अवधारणाले विश्वकै प्रतिस्पर्धी खुद्रा बजारमा प्रवेश पाउनु सामान्य उपलब्धि थिएन। यसले उत्पादनको माग र व्यावसायिक सम्भावनाप्रति ठूला खुद्रा विक्रेताको विश्वाससमेत देखाउँथ्यो।
अमेरिकामा प्रवेशसँगै कम्पनीले उत्पादनको प्रचारका लागि खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तिसँग सहकार्य गर्न थाल्यो। टेनिस खेलाडी, खेलकुद प्रतियोगिता र अन्तर्राष्ट्रिय खेल आयोजनासँग जोडिँदा उत्पादनलाई नयाँ ग्राहक समूहसम्म पुर्याउन सहज भयो।
खेलकुदसँगको सम्बन्ध वाटरड्रपको बजार रणनीतिको महत्त्वपूर्ण हिस्सा बनेको छ। पानी पिउने बानी र खेलकुदबीच स्वाभाविक सम्बन्ध रहेकाले खेलाडी तथा खेल आयोजनालाई ब्रान्डसँग जोड्नु कम्पनीका लागि उपयोगी माध्यम बन्यो।
कम्पनीले टेनिसका अन्तर्राष्ट्रिय प्रतियोगितासँग साझेदारी विस्तार गर्यो। अस्ट्रेलियन ओपन र एटीपी टुरसँगको सम्बन्धले यसको अन्तर्राष्ट्रिय दृश्यता बढाएको छ। विभिन्न चर्चित टेनिस खेलाडीलाई ब्रान्डको साझेदार बनाउँदै कम्पनीले खेलप्रेमी र स्वास्थ्यप्रति सचेत उपभोक्तासम्म पहुँच विस्तार गरेको छ।
यसले वाटरड्रपको बजार रणनीतिमा अर्को आयाम थप्यो। उत्पादन बेच्ने परम्परागत विज्ञापनभन्दा खेलकुद, जीवनशैली र उपभोक्ताको दैनिक व्यवहारसँग ब्रान्डलाई जोड्ने प्रयास गरियो।
लगानीकर्ताको विश्वास र पुँजी विस्तार
नयाँ अवधारणा सफल भए पनि त्यसलाई विश्वव्यापी व्यवसायमा बदल्न ठूलो पुँजी आवश्यक पर्छ। उत्पादन विकास, अनुसन्धान, उत्पादन क्षमता, अन्तर्राष्ट्रिय वितरण, बजार प्रवर्द्धन र खुद्रा पसल विस्तारका लागि निरन्तर लगानी चाहिन्छ।
वाटरड्रपले आफ्नो विस्तारका लागि बाह्य लगानीकर्ताको सहयोग लियो। कम्पनीले प्रारम्भिक चरणदेखि नै विभिन्न लगानीकर्ता आकर्षित गर्न सफल भयो। सन् २०२२ मा कम्पनीले ७ करोड अमेरिकी डलरको दोस्रो चरणको लगानी जुटाएको घोषणा गरेको थियो। त्यसबेला प्राप्त पुँजीलाई अन्तर्राष्ट्रिय बजार विस्तार र उत्पादन विकासमा प्रयोग गर्ने योजना थियो।
सन् २०२४ मा पनि कम्पनीमा थप लगानी भित्रियो। विभिन्न संस्थागत तथा निजी लगानीकर्ताको सहभागिताले कम्पनीको व्यावसायिक मूल्यांकन र भविष्यको सम्भावनाप्रति बजारको चासो देखायो।
यस क्रममा सिंगापुरको लगानी संस्था टेमासेक, जर्मनीको डोएलर र बिटबर्गरजस्ता संस्थाको लगानीकर्ताका रूपमा सहभागिता महत्त्वपूर्ण रह्यो। यसले कम्पनीलाई केवल नयाँ उत्पादनको प्रयोग गरिरहेको नवप्रवर्तनशील व्यवसायबाट स्थापित अन्तर्राष्ट्रिय उपभोक्ता ब्रान्डका रूपमा अघि बढ्न सहयोग गर्यो।
सन् २०२६ मे १३ मा वाटरड्रपले आफ्नो इतिहासकै ठूलो लगानी चरण पूरा गरेको घोषणा गर्यो। कम्पनीले एस्पेया, एटलान्टिक ग्रुपा र नर्वेली स्की खेलाडी अलेक्जेन्डर आमोड्ट किल्डेसहितका लगानीकर्ताबाट १० करोड युरोभन्दा बढी पुँजी जुटाएको जनाएको छ।
क्रोएसियाको एटलान्टिक ग्रुपा खाद्य तथा पेय पदार्थ क्षेत्रमा स्थापित व्यावसायिक समूह हो। यस्तो कम्पनीले वाटरड्रपमा लगानी गर्नुको अर्थ केवल आर्थिक प्रतिफलको सम्भावना मात्र होइन, अन्तर्राष्ट्रिय उपभोक्ता बजारमा ब्रान्डको विस्तारको सम्भावना पनि हो।
नयाँ लगानीबाट कम्पनीले उत्पादनको पहुँच बढाउने, नयाँ बजारमा प्रवेश गर्ने, वितरण प्रणाली बलियो बनाउने र पानी पिउने अनुभवसँग सम्बन्धित उत्पादनको दायरा फराकिलो बनाउने लक्ष्य राखेको छ।
लगानीको यो चरणले वाटरड्रपको विकासमा नयाँ मोड ल्याएको छ। सुरुवातमा संस्थापकको विचार र सीमित स्रोतबाट अघि बढेको व्यवसाय अब अन्तर्राष्ट्रिय लगानीकर्ता, ठूला खुद्रा साझेदार र विश्वव्यापी खेलकुद सञ्जालसँग जोडिएको छ।
तर लगानी जुटाउनु मात्र सफलताको अन्तिम मापदण्ड होइन। त्यसलाई उत्पादन, बजार विस्तार र दिगो आम्दानीमा बदल्न सक्नु महत्त्वपूर्ण हुन्छ। वाटरड्रपले यही चुनौतीलाई ध्यानमा राखेर आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ।
डेढ सय मिलियन युरोको कारोबार
वाटरड्रपको व्यावसायिक विस्तारको पछिल्लो अवस्था हेर्दा यसको वृद्धि उल्लेखनीय देखिन्छ। कम्पनीले सन् २०२६ मेमा सार्वजनिक गरेको विवरणअनुसार वार्षिक आम्दानी करिब १५ करोड युरो पुगेको छ। यसलाई नेपाली मुद्रामा रूपान्तरण गर्दा विनिमय दरअनुसार करिब २४ अर्ब रुपैयाँभन्दा बढी हुन्छ।
कम्पनीका अनुसार सन् २०२५ मा पहिलोपटक पूर्ण व्यावसायिक वर्ष नाफामा सञ्चालन भएको थियो।
करिब एक दशकअघि एउटा सानो उत्पादन अवधारणाबाट सुरु भएको व्यवसायले आम्दानी र नाफाको दुवै क्षेत्रमा उपलब्धि हासिल गर्नु यसको विस्तारको महत्त्वपूर्ण चरण हो।
वाटरड्रपको पछिल्लो विवरणअनुसार विश्वभर पाँच लाख होइन, ५० लाखभन्दा बढी अनलाइन ग्राहक तथा आफ्नै पसलमार्फत जोडिएका उपभोक्ता छन्। कम्पनीका उत्पादन २० हजारभन्दा बढी खुद्रा बिक्री केन्द्रमा उपलब्ध छन्। युरोप, अमेरिका, जापान र अस्ट्रेलियालगायतका बजारमा करिब ५० वटा आफ्नै पसल सञ्चालनमा छन्।
कम्पनीमा विश्वभर ४०० भन्दा बढी कर्मचारी कार्यरत छन्। यसले ४० भन्दा बढी देशमा व्यवसाय विस्तार गरेको विवरण पनि सार्वजनिक गरेको छ। यी तथ्याङ्क कम्पनीले सन् २०२६ मा सार्वजनिक गरेका विवरणमा आधारित छन्।
वाटरड्रपको आम्दानीको आधार एउटै उत्पादनमा निर्भर छैन। माइक्रोड्रिङ्क क्युब यसको प्रमुख उत्पादन भए पनि माइक्रोएनर्जी, माइक्रोलाइट, पुनः प्रयोग गर्न मिल्ने बोतल, गिलास र पानी छान्ने उपकरणले आम्दानीका अन्य स्रोत थपेका छन्।
यसले कम्पनीलाई ग्राहकसँग दीर्घकालीन सम्बन्ध बनाउन सहयोग पुर्याउँछ। एउटा ग्राहकले पहिलोपटक स्वादयुक्त क्युब खरिद गरेपछि पुनः प्रयोग गर्न मिल्ने बोतल, नयाँ स्वाद वा अन्य उत्पादन पनि खरिद गर्न सक्छ। यसरी एउटा उत्पादनमार्फत ग्राहक भित्र्याएर अन्य उत्पादनमा कारोबार विस्तार गर्ने रणनीति अपनाइएको छ।
वाटरड्रपको सफलतामा पुनः खरिदको महत्त्व पनि उत्तिकै छ। पेय पदार्थ दैनिक उपभोगसँग सम्बन्धित भएकाले ग्राहकले उत्पादन मन पराएमा नियमित रूपमा खरिद गर्न सक्छन्। यसले एकपटकको बिक्रीभन्दा दीर्घकालीन ग्राहक सम्बन्ध निर्माण गर्ने अवसर दिन्छ।
अर्कोतर्फ कम्पनीको आम्दानी बढ्दै जानु मात्र पर्याप्त हुँदैन। उत्पादनको लागत, बजार प्रवर्द्धन, कर्मचारी खर्च, ढुवानी, पसल सञ्चालन र अन्तर्राष्ट्रिय विस्तारमा हुने लगानीको सन्तुलन कायम गर्नुपर्छ। सन् २०२५ मा नाफामा पुगेको कम्पनीको दाबीले यही सन्तुलनतर्फको प्रगति देखाउँछ।
वातावरणमैत्री व्यवसायको दाबी र वास्तविक चुनौती
वाटरड्रपको व्यावसायिक अवधारणामा वातावरणीय पक्ष पनि जोडिएको छ। कम्पनीले बजारमा प्रवेश गर्दा बोतलबन्द पेय पदार्थको प्रयोग घटाउने र कम प्याकेजिङमा उत्पादन उपलब्ध गराउने उद्देश्य अघि सारेको थियो।
परम्परागत पेय पदार्थ उद्योगमा ठूलो परिमाणमा प्लास्टिकका बोतल प्रयोग हुन्छन्। उत्पादन तयार पार्ने, बोतलमा भर्ने, प्याकेजिङ गर्ने र विभिन्न बजारमा ढुवानी गर्ने प्रक्रियामा प्लास्टिकको प्रयोग हुन्छ। वाटरड्रपले सानो क्युबको अवधारणाबाट यो निर्भरता कम गर्न सकिने सम्भावना देखायो।
कम्पनीको आफ्नै तुलनात्मक विवरणअनुसार यसको एउटा क्युबको प्याकेजिङमा प्रयोग हुने प्लास्टिकको तौल सामान्य ५०० मिलिलिटरको एकपटक प्रयोग हुने प्लास्टिक बोतलको तुलनामा ९८ प्रतिशतसम्म कम हुन सक्छ। कम्पनीले एउटा क्युबको प्याकेजिङको तौल ०.४४ ग्राम र सामान्य प्लास्टिक बोतलको तौल २३.०९ ग्राम रहेको आधारमा यो तुलना गरेको छ।
यसले कम्पनीको उत्पादनलाई वातावरणीय दृष्टिले आकर्षक बनाएको छ। उपभोक्ताले पानी आफ्नै पुनः प्रयोग गर्न मिल्ने बोतलमा भर्न सक्छन् र आवश्यकताअनुसार क्युब घोल्न सक्छन्। तयार पेय पदार्थका लागि प्रत्येकपटक नयाँ प्लास्टिक बोतल खरिद गर्नुपर्ने आवश्यकता कम हुन्छ।
वाटरड्रपले प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि प्लास्टिक बैंकसँग पनि साझेदारी गरेको छ। कम्पनीका अनुसार यस साझेदारीमार्फत प्रत्येक महिना वातावरणबाट ८३ हजार २५० प्लास्टिक बोतल बराबरको फोहोर सङ्कलन गर्न सहयोग पुग्छ।
सन् २०२६ जुलाईसम्म यस्तो साझेदारीबाट ३ करोड १५ लाखभन्दा बढी बोतल बराबरको प्लास्टिक सङ्कलनमा आर्थिक सहयोग पुगेको कम्पनीको दाबी छ।
यद्यपि वाटरड्रपको वातावरणमैत्री व्यवसायसम्बन्धी दाबीलाई पूर्ण रूपमा प्लास्टिकमुक्त उत्पादनका रूपमा बुझ्नु हुँदैन। कम्पनीले आफ्नै वेबसाइटमा क्युबको प्याकेजिङमा पोलिप्रोपाइलिन, पीईटी र आल्मुनियम प्रयोग हुने स्वीकार गरेको छ। उत्पादनको गुणस्तर र प्राकृतिक सामग्रीको सुरक्षा कायम राख्न व्यक्तिगत प्याकेजिङ आवश्यक रहेको उसको भनाइ छ।
कम्पनीले प्रयोग भइसकेका प्याकेजिङ पुनः प्रशोधन गर्न टेरासाइकलसँग सहकार्य गरेको छ। तर सबै स्थानमा त्यस्तो प्याकेजिङ सजिलै पुनः प्रशोधन नहुन सक्ने र निश्चित पसलमार्फत मात्र सङ्कलन कार्यक्रम उपलब्ध हुने जानकारी पनि कम्पनीले दिएको छ।
यसबाट वाटरड्रपको व्यावसायिक यात्रामा एउटा महत्त्वपूर्ण पक्ष देखिन्छ। वातावरणीय दिगोपनलाई बजार प्रवर्द्धनको नारामा मात्र सीमित नराखी उत्पादन, प्याकेजिङ, वितरण र पुनः प्रशोधनको व्यवस्थासँग जोड्नुपर्ने हुन्छ। कम्पनीले केही क्षेत्रमा प्रगति गरे पनि प्याकेजिङको पूर्ण पुनः प्रयोग र प्लास्टिकमुक्त उत्पादन विकास अझै चुनौतीकै रूपमा रहेको छ।
प्रतिस्पर्धा र भविष्यको बजार
वाटरड्रपले नयाँ उत्पादन अवधारणा प्रस्तुत गरे पनि पेय पदार्थको बजारमा प्रतिस्पर्धा कम छैन। परम्परागत पेय पदार्थ उत्पादक, बोतलबन्द पानीका ब्रान्ड, ऊर्जा पेय, स्वादयुक्त पानी र पोषणसम्बन्धी उत्पादनले उपभोक्ताको ध्यान आकर्षित गरिरहेका छन्।
यस्तो बजारमा टिकिरहन उत्पादनको नवीनता मात्र पर्याप्त हुँदैन। मूल्य, गुणस्तर, स्वाद, वितरण, ब्रान्डको विश्वसनीयता र ग्राहकको नियमित खरिद गर्ने व्यवहार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
वाटरड्रपका लागि अर्को चुनौती यसको उत्पादनको अवधारणा उपभोक्तालाई निरन्तर बुझाइरहनु हो। सादा पानीमा घोलिने क्युबको प्रयोग सबै बजारमा समान रूपमा परिचित छैन। त्यसैले कम्पनीले नयाँ देशमा प्रवेश गर्दा उपभोक्तालाई उत्पादनको प्रयोग, स्वाद र फाइदाबारे जानकारी दिनुपर्ने हुन्छ।
यसका लागि कम्पनीले आफ्ना भौतिक पसललाई केवल बिक्री केन्द्रका रूपमा मात्र प्रयोग गरेको छैन। उपभोक्ताले विभिन्न स्वाद परीक्षण गर्न, उत्पादन बुझ्न र नयाँ उत्पादनसँग परिचित हुन सक्ने स्थानका रूपमा विकास गरेको छ। अनलाइन बिक्रीसँग जोडेर भौतिक पसल सञ्चालन गर्दा ग्राहकको अनुभव र ब्रान्डप्रतिको विश्वास बढाउन सकिने कम्पनीको रणनीति छ।
सन् २०२६ मा प्राप्त नयाँ लगानीले कम्पनीलाई आगामी दिनमा थप बजार विस्तार गर्ने आधार दिएको छ।
एसिया, अमेरिका र युरोपका बजारमा आफ्नो उपस्थिति बलियो बनाउने, उत्पादनको दायरा बढाउने र वितरण सञ्जाल विस्तार गर्ने सम्भावना छ।
कम्पनीले पानी पिउने बानीसँग सम्बन्धित उत्पादनलाई एउटै वर्गमा सीमित राख्न चाहेको देखिँदैन। सामान्य स्वादयुक्त पानीबाट ऊर्जा र इलेक्ट्रोलाइटसम्मका उत्पादन थपिनु त्यसको उदाहरण हो। पुनः प्रयोग गर्न मिल्ने बोतल र पानी छान्ने उपकरण पनि यही व्यावसायिक सोचको हिस्सा हुन्।
यसरी वाटरड्रपले एउटा सानो क्युबलाई केन्द्रमा राखेर पानी पिउने अनुभवसँग सम्बन्धित उत्पादनको विस्तृत बजार निर्माण गर्ने प्रयास गरिरहेको छ।
सानो सोच, ठूलो बजारको पाठ
वाटरड्रपको यात्रा हेर्दा सफल व्यवसाय निर्माण गर्न सधैँ नयाँ वस्तु आविष्कार गर्नुपर्छ भन्ने छैन। बजारमा पहिलेदेखि उपलब्ध वस्तु वा सेवाको प्रयोग गर्ने तरिका परिवर्तन गरेर पनि ठूलो व्यावसायिक अवसर सिर्जना गर्न सकिन्छ।
पानी मानव जीवनको आधारभूत आवश्यकता हो। यसको बजार पहिलेदेखि नै विशाल थियो। तर वाटरड्रपका संस्थापकले पानीको बजारमा प्रवेश गर्न नयाँ पानीको स्रोत खोजेनन्। पानी पिउने उपभोक्ताको बानीलाई केन्द्रमा राखे। सादा पानी पिउन मन नलाग्ने समस्यालाई उत्पादनको अवधारणासँग जोडे।
यसले तीनवटा महत्त्वपूर्ण व्यावसायिक पाठ दिन्छ।
पहिलो, सामान्य समस्याभित्र पनि ठूलो बजारको सम्भावना लुकेको हुन्छ। व्यवसायीले उपभोक्ताको दैनिक जीवनमा देखिने असहजता पहिचान गर्न सक्नुपर्छ। वाटरड्रपले पानी पिउने बानीलाई सहज र आकर्षक बनाउने सम्भावना पहिचान गर्यो।
दोस्रो, उत्पादनको नवीनता मात्र पर्याप्त हुँदैन। त्यसलाई उपभोक्तासम्म पुर्याउने बजार रणनीति पनि आवश्यक हुन्छ। वाटरड्रपले अनलाइन बिक्री, आफ्नै पसल, खुद्रा साझेदारी र खेलकुद प्रायोजनलाई एकीकृत गरेर ब्रान्ड विस्तार गर्यो।
तेस्रो, व्यवसायलाई एउटा उत्पादनमा सीमित राख्नु हुँदैन। सफल उत्पादनबाट प्राप्त ग्राहकको विश्वासलाई अन्य उत्पादन र सेवासँग जोड्न सक्नुपर्छ। वाटरड्रपले स्वादयुक्त क्युबबाट सुरु गरेर ऊर्जा पेय, इलेक्ट्रोलाइट, बोतल र पानी छान्ने उपकरणसम्म विस्तार गरेको छ।
अस्ट्रियाको भियनामा तीन जनाले सुरु गरेको एउटा सानो व्यावसायिक प्रयोग अहिले पाँच करोड होइन, ५० लाखभन्दा बढी ग्राहकसँग जोडिएको अन्तर्राष्ट्रिय ब्रान्ड बनेको छ।
करिब १५ करोड युरो वार्षिक आम्दानी, २० हजारभन्दा बढी खुद्रा बिक्री केन्द्र र ५० वटा आफ्नै पसल यसको विस्तारको पछिल्लो आकार हो।
तर वाटरड्रपको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि यी तथ्याङ्क मात्र होइनन्। पानी पिउने जस्तो सामान्य दैनिक व्यवहारलाई नयाँ उत्पादन अवधारणासँग जोडेर त्यसको छुट्टै बजार निर्माण गर्न सक्नु हो।
व्यवसायको सुरुवात ठूलो उद्योग, विशाल कारखाना वा महँगो उत्पादनबाटै हुनुपर्छ भन्ने छैन। कहिलेकाहीँ एउटा सामान्य प्रश्नले पनि ठूलो व्यवसायको ढोका खोल्न सक्छ। मानिसले पर्याप्त पानी किन पिउँदैनन् भन्ने प्रश्नबाट सुरु भएको वाटरड्रपको यात्रा त्यसको उदाहरण हो।
एउटा सानो क्युबले पानीको बजार बदल्ने दाबी गरेको छ। त्यसलाई विश्वव्यापी व्यवसायमा रूपान्तरण गर्ने प्रयासले भने एउटा स्पष्ट सन्देश दिएको छ। सफल व्यवसायको सुरुवात उत्पादनको आकारबाट होइन, त्यसले समाधान गर्ने समस्याको महत्त्वबाट हुन्छ।
