काठमाडौं: अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च १५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। निर्माण क्षेत्र र तथ्याङ्क केन्द्रका लागि आवश्यक उपकरणमा व्यवसायीहरूले लगानी बढाएपछि यस्तो वृद्धि देखिएको हो। बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को सेप्टेम्बरमा समाप्त त्रैमासिक अवधिमा निजी क्षेत्रको पुँजीगत खर्च अघिल्लो त्रैमासिकको तुलनामा १२.२ प्रतिशतले बढेको छ। यो सन् २०११ यताकै सबैभन्दा ठूलो त्रैमासिक वृद्धि हो।
अस्ट्रेलियाली तथ्याङ्क विभागका व्यावसायिक तथ्याङ्क प्रमुख रोबर्ट इविङले तथ्याङ्क केन्द्रका लागि आवश्यक उपकरणमा भएको उल्लेखनीय लगानीले खर्चमा वृद्धि ल्याएको बताए। उनका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा पुँजीगत खर्च १८.६ प्रतिशतले बढेको छ। सन् २०२५ को सेप्टेम्बर त्रैमासिकदेखि नै व्यवसायीहरूले सर्भर र्याक तथा तथ्याङ्क प्रशोधन गर्ने उपकरणमा ठूलो लगानी गर्न थालेका थिए।
तथ्याङ्कअनुसार सूचना सञ्चार तथा दूरसञ्चार क्षेत्रमा लगानी ८६.७ प्रतिशतले बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। नयाँ उपकरण तथा मेसिनरी खरिदमा हुने खर्च २३.१ प्रतिशतले बढेको छ, जसमा सूचना तथा दूरसञ्चार क्षेत्रको योगदान १८३.५ प्रतिशत रहेको छ।
भवन तथा संरचना निर्माणमा हुने खर्च पनि १.७ प्रतिशतले बढेको छ। विशेषगरी नवीकरणीय ऊर्जा परियोजना, विद्युत् भण्डारण र प्रसारण पूर्वाधार निर्माणले यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ। इविङले विद्युत्, ग्यास, पानी तथा फोहोर व्यवस्थापन सेवा र सूचना सञ्चार क्षेत्रमा भवन निर्माणसम्बन्धी लगानी हालसम्मकै उच्च बिन्दुमा पुगेको जानकारी दिए।
