काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु सेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यका साथ विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ। विमानस्थलको आन्तरिक प्रस्थान कक्ष र आगमन क्षेत्रमा उपलब्ध गराइएको यो सेवाबाट ज्येष्ठ नागरिक, गर्भवती महिला, शारीरिक रूपमा असहज अवस्था भएका यात्रु तथा धेरै वा गह्रौँ सामान बोकेका यात्रुहरू विशेष रूपमा लाभान्वित हुनेछन्।
विमानस्थलका अनुसार यात्रुमैत्री सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यो सेवालाई यात्रुहरूको आवश्यकता, सुझाव र उपलब्ध स्थानका आधारमा थप व्यवस्थित र विस्तार गर्दै लगिनेछ। यदि कुनै यात्रुले ट्रली सेवाका नाममा रकम माग गरिएमा वा यस सेवासहित अन्य सेवाका विषयमा कुनै गुनासो तथा समस्या भएमा आन्तरिक टर्मिनलका ड्युटी अफिसरको सम्पर्क नम्बर ०१-४११३२९९ मा सम्पर्क गरी जानकारी गराउन सकिने व्यवस्था मिलाइएको छ।
