पोखरा: कास्कीका दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले बुधबार पत्रकार सम्मेलन गरी दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँबाट बढाएर ८० रुपैयाँ पुर्याउन माग गरेको हो।
संघका अध्यक्ष नवराज बरालका अनुसार पछिल्लो दुई महिनामा मात्रै पशु आहारमा प्रयोग हुने दानाको मूल्य सात रुपैयाँले बढेको छ। हाल दूध उत्पादनको लागत प्रतिलिटर ६९ रुपैयाँ ५० पैसा पुगेको भए पनि किसानले ६५ रुपैयाँमा बिक्री गर्नुपर्दा घाटा बेहोर्नुपरेको उनले बताए। लागत मूल्य नउठेका कारण किसानहरू पेसाबाट पलायन हुने क्रम बढेको संघको भनाइ छ।
संघले दूधको मूल्य वृद्धिका साथै समयमै भुक्तानीको व्यवस्था, पशु स्वास्थ्य सेवा, नियमित खोप, औषधोपचार र पशु आहारमा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मंसिर १० गतेसम्मको अल्टिमेटम दिँदा पनि सुनुवाइ नभएकाले मंसिर १६ गतेबाट आन्दोलनमा जाने निर्णय गरिएको अध्यक्ष बरालले जानकारी दिए। यस पटकको आन्दोलनमा दूध पोख्नेभन्दा पनि गोबर र पराल बोकेर रचनात्मक विरोध गरिने उनले बताए।
कास्कीमा यस संघअन्तर्गत ४२ वटा सहकारी संस्था आबद्ध छन्, जसमा करिब पाँच हजार पाँच सय किसान परिवार जोडिएका छन्। जिल्लाभर करिब ११ हजार पाँच सय घरपरिवार दुग्ध उत्पादनमा संलग्न छन्। कास्कीमा दैनिक एक लाख लिटर दूध उत्पादन हुने गरेको छ, जसमध्ये ३० हजार लिटर सहकारीमार्फत र ७० हजार लिटर किसान आफैँले बिक्री गर्छन्। मागअनुसार उत्पादन अपुग भएपछि जिल्लामा भैरहवा, नवलपुर र चितवनलगायतका स्थानबाट दूध आयात हुँदै आएको छ।
