काठमाडौं: सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री सिता बादीले नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा यस्तो जानकारी दिएकी हुन्।
चालु आर्थिक वर्षको बजेटमा विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट यो प्रक्रिया सुरु गरिएको मन्त्री बादीले बताइन्। सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्न स्थानीय तहको सह-योगदानमा थप एक प्रतिशत रकम सङ्घीय सरकारले व्यहोर्ने व्यवस्था मिलाएको छ। यसका साथै प्रधानमन्त्री, मन्त्री र सङ्घीय सांसदहरूलाई समेत कोषमा आबद्ध गर्ने तयारी गरिएको छ।
मन्त्री बादीले सामाजिक सुरक्षालाई रोजगारदातामाथिको आर्थिक भारका रूपमा नभई श्रमिकको उत्पादकत्व र संस्थागत स्थायित्वमा गरिने लगानीका रूपमा बुझ्नुपर्नेमा जोड दिइन्। उनले छरिएर रहेका विभिन्न कल्याणकारी कोषहरूलाई एकीकृत गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने सरकारको प्राथमिकता रहेको उल्लेख गरिन्।
हालसम्म सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भइसकेका छन्। कोषमा १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी सङ्कलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ। सरकारले योगदानमा आधारित र गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीलाई एकअर्काको पूरकका रूपमा विकास गर्ने नीति लिएको छ। यस वर्षको सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता: वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नाराका साथ मनाइएको छ।
