Logo

निक्षेप परिचालन पचपन्न अर्ब र कर्जा प्रवाह करिब तीन अर्बले घट्यो

अ+ अ-

काठमाडौँ- बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ५५ अर्ब ७९ करोड अर्थात् ०.८ प्रतिशतले घटेर ७२ खर्ब आठ अर्ब नौ करोडमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४३ अर्ब ४५ करोड अर्थात् ०.७ प्रतिशतले घटेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८२ साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ । गत साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३७.५ प्रतिशत र ४८.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.० प्रतिशत, ३०.३ प्रतिशत र ५७.५ प्रतिशत रहेको थियो ।

गत साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको साउन मसान्तमा यस्तो निक्षेपको अंश ३५.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई अर्ब ९३ करोड अर्थात् ०.१ प्रतिशतले घटेर ५४ खर्ब ९५ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ अर्ब ११ करोड अर्थात् ०.३ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८२ साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.० प्रतिशतले बढेको छ ।

गत साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थातर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो । गत साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १४.८ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत कर्जा रहेको छ ।अघिल्लो वर्षको साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.३ प्रतिशत र ६६.३ प्रतिशत रहेको थियो ।

आव २०८२/८३ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले बढेको छ भने थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.०४ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ०.२ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २.७ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा १.१ प्रतिशतले र रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ०.१ प्रतिशत, नगद प्रवाह कर्जा ०.९ प्रतिशत र अधिविकर्ष कर्जा ३.२ प्रतिशतले घटेको छ ।