Logo

जेनजी प्रदर्शनले घट्यो राजस्व

अ+ अ-

काठमाडौँ-भदौ २३ गतेदेखि सुरु जेनजी प्रदर्शनका कारण सरकारको राजस्व सङ्कलनमा असर परेको छ । कर दाखिला गर्ने मुख्य समयमै प्रदर्शन चर्किएपछि भदौमा राजस्व सङ्कलन घटेको हो ।

सामान्यता अघिल्लो महिनाको कर अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नु पर्छ । त्यही समयमा भएको प्रदर्शनका कारण कर तथा भन्सार कार्यालय बन्द हुँदा राजस्व सङ्कलन प्रभावित भएको हो ।

प्रदर्शनका कारण कतिपय कर कार्यालयमा तोडफोड र सबैभन्दा धेरै कर तिर्ने निजी क्षेत्रका संरचनामा समेत आगजनी हुँदा त्यसको असर राजस्व सङ्कलनमा देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ ७२ अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । २०८१ भदौमा ७३ अर्ब ४५ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालु आवका दुई महिना (साउन–भदौ) मा पनि राजस्व सङ्कलनको अवस्था विगतभन्दा घटेको देखिन्छ । यस अवधिमा कुल एक खर्ब ५७ अर्ब ५३ करोड रुपियाँ राजस्व उठेको कार्यालयको तथ्याङ्क छ । जबकि गत आवको सोही अवधि अर्थात् सुरु दुई महिनामा एक खर्ब ६८ अर्ब ४२ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । अर्थात् अघिल्लो वर्षको दुई महिनाको तुलनामा यस पटक करिब १० अर्ब रुपियाँले राजस्व सङ्कलन घटेको छ ।

चालु आवका दुई महिनामा सङ्कलित कुल राजस्वमध्ये कर राजस्व एक खर्ब ५० अर्ब र सात अर्ब १३ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ । यसबाहेक सरकारले एक अर्ब २७ करोड अनुदान र एक अर्ब १७ करोड रुपयाँ अन्य शीर्षकमा आम्दानी गरेको छ । यी सबै शीर्षकसहित एक खर्ब ५९ अर्ब ९८ करोड रुपियाँ सरकारको खातामा आम्दानी देखिएको छ ।

खर्च चालिस अर्ब बढ्यो

सरकारको आम्दानी घटे पनि खर्च भने ४० अर्ब रुपियाँले बढेको छ । कार्यालयका अनुसार भदौसम्म सरकारले एक खर्ब ८० अर्ब १७ करोड रुपियाँ खर्च गरेको छ । गत वर्ष भदौसम्म सरकारले केबल एक खर्ब ३९ अर्ब ७७ करोड रुपियाँ खर्च गरेको थियो ।

चालु आवमा सरकारले सबैभन्दा धेरै एक खर्ब १४ अर्ब १८ करोड रुपियाँ चालु शीर्षकमा खर्च गरेको छ । त्यसपछि ऋण तिर्न वित्तीय व्यवस्थातर्फ ५९ अर्ब ६२ करोड रुपियाँ खर्च भएको छ । विकासनिर्माणका लागि छ अर्ब ३५ करोड रुपियाँ पुँजीगत खर्च भएको छ । गत आवको सोही अवधिमा सरकारले ८५ अर्ब रुपियाँ मात्र चालु खर्च गरेको थियो । चालु प्रकृतिका र ऋण भुक्तानीका लागि खर्च बढ्दा सरकारको खर्च बढेको देखिन्छ ।