काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका २० वाणिज्य बैङ्कको खुद नाफा ४९ अर्ब २१ करोड रुपियाँ नाघेको छ । अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतको वृद्धि देखिँदा बैङ्किङ क्षेत्र क्रमशः सुधारको दिशामा अघि बढेको सङ्केत देखिएको छ ।
चालु आवको चैत मसान्तसम्म आइपुग्दा वाणिज्य बैङ्कले ४९ अर्ब २१ करोड रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरेका हुन्, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १९.३० प्रतिशतले बढी हो । सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १३ बैङ्कको नाफा बढेको छ भने सात वटा बैङ्कको नाफा घटेको देखिएको छ ।
नाफाका आधारमा नबिल बैङ्कले छ अर्ब ७६ करोड रुपियाँ कमाउँदै शीर्ष स्थान कायम राखेको छ । बैङ्कको नाफा गत वर्षको तुलनामा करिब ३३.९ प्रतिशतले वृद्धि भएको हो ।
त्यसै गरी ग्लोबल आइएमई बैङ्क चार अर्ब ४० करोड रुपियाँसहित दोस्रो स्थानमा रहँदा कुमारी बैङ्क चार अर्ब १७ करोड रुपियाँसहित तेस्रो स्थानमा रहेको छ ।
नाफा वृद्धिदरका आधारले कुमारी बैङ्क सबैभन्दा अगाडि देखिएको छ । बैङ्कको नाफा अघिल्लो वर्षको तुलनामा १३६१.७६ प्रतिशतले बढेको हो । गत वर्ष २८ करोड रुपियाँमा सीमित नाफा यस वर्ष चार अर्ब नाघेको हो । यस्तै राष्ट्रिय वाणिज्य बैङ्कले पनि १२९.३४ प्रतिशत नाफा वृद्धि गर्दै उल्लेखनीय सुधार गरेको छ ।
समीक्षा अवधिमा प्रभु बैङ्कको नाफा सबैभन्दा धेरै ५४.६१ प्रतिशतले घटेको छ । त्यसपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (३०.६९ प्रतिशत), कृषि विकास बैङ्क (२४.४२ प्रतिशत) र एनआइसी एसिया बैङ्क (१०.४९ प्रतिशत) को नाफा घटेको देखिएको छ ।
नाफाका आधारमा एनआइसी एसिया बैङ्क करिब १४ करोड रुपियाँमा सीमित रहँदै सबैभन्दा तल देखिएको छ । प्रभु बैङ्क र सिटिजन्स बैङ्कको नाफा पनि तुलनात्मक रूपमा कम रहेको छ ।