काठमाडौँ- बिमाशुल्कमा अनधिकृत छुट दिएको र स्वामित्वसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको आरोपमा नेपाल बिमा प्राधिकरणले दुई बिमा कम्पनीलाई कारबाही गरेको छ ।
प्राधिकरणले बजार अनुशासन कायम गर्न भन्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई दुई लाख रुपियाँ र स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको भन्दै लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालिलाई पाँच हजार रुपियाँ जरिबाना गरेको हो ।
बजार हिस्सा बढाउने प्रतिस्पर्धामा बिमा शुल्कमै छुट दिने प्रवृत्ति देखिन थालेपछि प्राधिकरणले हस्तक्षेप सुरु गरेको छ । प्राधिकरणले बिमा ऐन, २०७९ तथा जारी निर्देशन पालना नगरेको निष्कर्ष निकाल्दै यस्तो कारबाही गरेको हो ।
प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बिमा शुल्कमा छुट दिएको भेटिएपछि पहिलो पटकका लागि दुई लाख रुपियाँ जरिबाना गरिएको प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय बिमा कम्पनीले बजार हिस्सा बढाउने प्रतिस्पर्धामा कहिलेकाहीँ प्रिमियम दरमा अनधिकृत छुट दिने अभ्यास गर्ने गरेका छन् । यस्तो प्रवृत्तिले अल्पकालीन रूपमा ग्राहक आकर्षित गरे पनि दीर्घकालीन रूपमा बिमा कोषको स्थायित्व र बजार अनुशासनमा असर पर्न सक्ने जोखिम रहने प्राधिकरणले जनाएको छ । जसलाई गम्भीर उल्लङ्घनका रूपमा लिने गरिएको छ ।
त्यसै गरी लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीले पुनर्बिमा दलालसम्बन्धी निर्देशिका, २०७८ अन्तर्गतको स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको पाइएपछि कारबाही गरिएको हो ।