काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्ण रूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबिच सहकार्यको आवश्यकता औँल्याउनुभएको छ ।
उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन, नियम तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । विज्ञापन बोर्डको नियामकीय क्षमता थप सुदृढ बनाउन सरकारले आवश्यक पहल गर्ने बताउँदै उहाँले बोर्डलाई प्रभावकारी संस्थाका रूपमा विकास गरिने उल्लेख गर्नुभयो ।
नेपाल विज्ञापन सङ्घसँग सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री तिमिल्सिनाले त्यस्तो बताउनुभएको हो । उहाँले विज्ञापन क्षेत्रको दुरुपयोग हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विज्ञापन क्षेत्रलाई स्वच्छ, स्वस्थ र पारदर्शी बनाउनु सबैको साझा दायित्व हो । गलत अभ्यास र दुरुपयोग हुन नदिन निजी क्षेत्रले पनि आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नु पर्छ । नियामक निकायलाई पनि काम गर्न सक्दिनँ भन्ने छुट छैन ।”
उहाँले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा ठुलो अनियमितता र अपारदर्शिता रहेकोमा सरकारले त्यसलाई सुधार्ने काम सुरु गरिसकेको उल्लेख गर्दै सही ढङ्गले व्यवसाय गरेर पनि नाफा आर्जन गर्न र सफलता हासिल गर्न सकिने विश्वास स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । विज्ञापन क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सबै पक्षले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले यस क्षेत्रलाई नयाँ ऊर्जासाथ अगाडि बढाउन सरकारले राष्ट्रिय विज्ञापन नीति, २०८३ ल्याएको र यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।
नयाँ कानुन आउँदै
सञ्चारमन्त्री तिमिल्सिनाले समग्र सञ्चार क्षेत्रलाई स्वच्छ, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यका साथ नयाँ कानुन ल्याउन लागेको र ती विधेयक बन्ने क्रममा रहेको जानकारी दिनुभयो । सञ्चार क्षेत्रका कमजोरीका कारण विज्ञापन बजार पनि प्रभावित भएको उल्लेख गर्दै उहाँले सञ्चार क्षेत्र सुधारका काम योजनाबद्ध र चरणबद्ध रूपमा अगाडि बढाइने बताउनुभयो ।
नेपाल विज्ञापन सङ्घका अध्यक्ष सुदीप थापाले पछिल्लो एक दशकमा नेपालको विज्ञापन बजारको स्वरूप उल्लेखनीय रूपमा परिवर्तन भए पनि अहिले विज्ञापन बजार अस्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख भएको बताउनुभयो ।
चिनियाँ टोलीसँग छलफल
‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ का संस्थापक अध्यक्ष ली होङ्सुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सञ्चारमन्त्री तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबिच चलचित्र, संस्कृति र पर्यटन प्रवर्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।
सो भेटका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सरकारले यस्ता पहललाई आवश्यकता अनुसार सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले चीन नेपालका लागि बढी पर्यटक भित्रिने मुलुकमध्ये एक रहेको उल्लेख गर्दै नेपाली प्राकृतिक सम्पदा, संस्कृति र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो । नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउन तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष लीले नेपाल चीनको घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र चलचित्र छायाङ्कनका लागि उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ नेपाल र चीनबिच चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको द्विपक्षीय पहल भएको बताउनुभयो ।
सन् २०२६ अप्रिल १४ देखि १९ तारिखसम्म चीनको हुनान प्रान्तस्थित चाङ्सा र हेङयाङ सहरमा आयोजना गरिएको महोत्सव नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ औँ वर्षको अवसरमा सम्पन्न भएको थियो । महोत्सवका लागि नेपालबाट २३ वटा चलचित्र आवेदन परेकामा ११ वटा चलचित्र प्रारम्भिक छनोटमा परेका थिए ।
