Logo

जगदम्बा मोटर्सले नेपालमा ल्यायो प्रोटोनको नयाँ विद्युतीय ह्याचब्याक ‘इमास ५’, मूल्य २९.९९ लाखदेखि

अ+ अ-

काठमाडौं : मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले आफ्नो नयाँ विद्युतीय ह्याचब्याक ‘इमास ५’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारदेखि उक्त मोडलको बिक्री सुरु गरेको हो।

कम्पनीले इमास ५ लाई प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ। प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

इमास ५ चीनमा जिलीले उत्पादन गर्ने ‘जिङयुआन’ मोडलको रिब्याज्ड संस्करण हो। प्राइम भेरियन्टमा ५८ किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ, जसले १३० न्युटन मिटर टर्क उत्पादन गर्छ। यसमा ३०.१२ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा २२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

यस्तै, प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको मोटर रहेको छ, जसले १५० न्युटन मिटर टर्क उत्पादन गर्छ। ४०.१६ किलोवाट–आवर क्षमताको ब्याट्रीसहित आउने यो भेरियन्टले एकपटकको पूर्ण चार्जमा ३२५ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

रियर–ह्वील ड्राइभ प्रणालीमा आधारित इमास ५ को लम्बाइ ४,१३५ मिमी, चौडाइ १,८०५ मिमी र उचाइ १,५७० मिमी रहेको छ भने २,६५० मिमीको ह्वीलबेस दिइएको छ।

इन्टेरियरतर्फ ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफङ्सन स्टेयरिङ ह्वील तथा भेरियन्टअनुसार १०.१ इन्च वा १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले उपलब्ध छ। साथै हाइकार कनेक्सन, ५० वाट वायरलेस चार्जर, २५६ रङको एम्बियन्ट लाइटिङ र किलेस इन्ट्री जस्ता सुविधा समावेश गरिएको छ।

सुरक्षाका लागि इमास ५ मा ६ वटा एयरब्याग, एडास प्रणाली, ३६० डिग्री क्यामेरा लगायतका आधुनिक सुरक्षा फिचर उपलब्ध छन्। ४.९५ मिटरको सानो टर्निङ रेडियसका कारण सहरी सडकमा चलाउन सहज हुने कम्पनीको दाबी छ।