काठमाडौँ। बजारमा खाना पकाउने एलपी ग्यासको माग ह्वात्तै बढेको छ । नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको जनाएकाे छ । यता उपभोक्ताले भने एक सातादेखि ग्यास पाउन नसकेकाे गुनासाे गरेका छन् । ग्यास नपाएपछि डिलरमा उपभोक्ताको लाइन लागेको छ । बजारमा विशेष गरी नेपाल, एचपी, गीतालगायतका ग्यास सिलिन्डरको बढी अभाव छ । निगमसँग ग्यासको भण्डारण क्षमता नभएको र निजी क्षेत्रलाई ग्यासको कारोबार खुला गर्दा बेला बेला यस्तो समस्या आउने गरेको छ । निगमले खरिद आदेश (पिडिओ) जारी गर्ने र विभिन्न उद्योगीले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यास आयात गर्छन् ।
ग्यास अभाव हुँदा गत २८ फागुनदेखि आधा तौलका सिलिन्डर वितरण गर्दै आएको निगमले ३० असारदेखि पूर्ण तौल (१४.२ केजी) भएका सिलिन्डर बजारमा बिक्री खुला गरेको थियो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पूर्ण तौलको ग्यास सिलिन्डर बिक्री खुला गरेसँगै बजारमा खाली सिलिन्डर भर्ने ग्राहक धेरै आउँदा ग्यासको माग बढी भएको दाबी गर्नुभयो । ग्यासको आयात नियमित रूपमा भइरहेको तर माग बढेकाले अभाव देखिएको उहाँले जानकारी दिनुभयो । ग्यासको आयात नियमित भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उहाँले उपभोक्तालाई आग्रह गर्नुभयो ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पछिल्लो समय पूर्ण तौलको सिलिन्डर भर्ने उपभोक्ता बढेकाले अभाव देखिएको जानकारी दिनुभयो । “पछिल्लो चार महिना आधा तौलको सिलिन्डर बिक्री गर्दा बढी सिलिन्डर बजारमा गएको र केही ग्राहक पूर्ण तौलको भर्ने भनेर आएनन्,” श्रेष्ठले भन्नुभयो, “अहिले पूर्ण तौलको सिलिन्डर दिन थालेपछि खाली सिलिन्डर भर्न आएपछि माग बढ्दा अभाव देखिएको हो ।”
आधा तौलको सिलिन्डर वितरण गर्दा बजारमा धेरै गएको र पूर्ण तौल गर्दा कम सङ्ख्यामा सिलिन्डर वितरण भएको उहाँको भनाइ छ । ग्यासको आयात नियमित भइरहेकाले हप्ता÷१० दिनमा अभाव कम भई ग्यासको आपूर्ति सहज हुने उहाँको दाबी छ । नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले केही उद्योगले रिफिलिङ प्लान्टबाट सिलिन्डर बिक्री गरेकाले बजारमा अभाव भएको जानकारी दिनुभयो । माग धेरै भए पनि उद्योगीले डिलर कहाँ कम ग्यास पठाएकाले उपभोक्ताले सहजै पाउन नसकेको उहाँको भनाइ छ । पश्चिम एसियाली मुलुकको युद्धले गर्दा गत फागुन महिनामा ग्यास कम आयात हुँदा बजारमा ग्यासको अभाव थियो । त्यतिबेला निगमले आपूर्ति व्यवस्था सहज पार्न आधा तौलको सिलिन्डर चार महिना वितरण गर्दा बजारमा ग्यास अभाव हटेको थियो । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले कोटा अनुसार ग्यास नियमित रूपमा दिइरहेकाले आपूर्तिमा समस्या नभएको निगमले जनाएको छ । निगमका अनुसार गत चैतमा ३८ हजार मेट्रिक टन ग्यास आयात भएकोमा वैशाखमा घटेर ३२ हजार मेट्रिक टन आयात भएको थियो ।
यस्तै जेठमा ३३ हजार मेट्रिक टन आयात भएकामा आसारमा बढेर ४४ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । साउन १५ सम्म २६ हजार मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ । सामान्य अवस्थामा मासिक ४५ हजार मेट्रिक टनदेखि ५० हजार मेट्रिक टन ग्यास खपत हुने गर्छ । निगमका अनुसार बजारमा डेढ करोड सङ्ख्यामा सिलिन्डर छन् । यसैबिच निगमले बजारमा एक्कासि ग्यासको माग बढेपछि आपूर्ति सहज बनाउन शनिबारदेखि टेकु कार्यालयबाट वितरण सुरु गरेको छ । निगमका अनुसार बिहान ११:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर वितरण गरिएको छ । टेकु कार्यालयमा आइतबार ग्यास लिनेको भिड लागेको निगमले जनाएको छ । यस्तै साल्ट टे«डिङ कर्पोरेसन कालीमाटीमा समेत ग्यास लिने उपभोक्ताको लाइन लागेको छ । ५९ वटा ग्यास उद्योगले ग्यास आयात गरी वितरण गर्दै आएका छन् ।
