काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होमबीच घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ। सहकार्यपछि अस्पतालसम्म पुग्न कठिन हुने बिरामी तथा ज्येष्ठ नागरिकले घरमै नर्भिकका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीबाट विभिन्न स्वास्थ्य सेवा लिन सक्ने भएका छन्।
सम्झौताअनुसार बिरामीले घरमै होम नर्सिङ, चिकित्सकीय परामर्श, फिजियोथेरापी तथा पुनर्स्थापना सेवा, ल्याब नमुना संकलन, पोस्ट अपरेटिभ केयर, आवश्यक फलोअप तथा मासिक स्वास्थ्य परीक्षण सेवा लिन सक्नेछन्।
घरमै उपचार तथा हेरचाह गराइरहेका बिरामीलाई थप विशेषज्ञ उपचार आवश्यक परेमा नर्भिक इन्टरनेशनल हस्पिटलमा रेफरल तथा समन्वयको व्यवस्था गरिनेछ। यसले बिरामीको अवस्थाअनुसार समयमै अस्पताल तथा विशेषज्ञ सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
विशेषगरी अस्पतालबाट डिस्चार्जपछि निरन्तर हेरचाह आवश्यक पर्ने बिरामी, ज्येष्ठ नागरिक, दीर्घरोगी, शल्यक्रियापछि पुनर्स्थापनामा रहेका व्यक्ति तथा अस्पतालसम्म पुग्न कठिन हुने बिरामीलाई यो सेवाबाट प्रत्यक्ष लाभ पुग्ने बताइएको छ।
सहकार्यअन्तर्गत दुई संस्थाबीच स्वास्थ्यकर्मीको तालिम, ज्ञान तथा अनुभव आदानप्रदान र बिरामीको हेरचाहसम्बन्धी आवश्यक समन्वयसमेत गरिनेछ।
नर्भिकका संस्थापक अध्यक्ष बसन्त चौधरीले विदेशमा रहेका नेपालीका नेपालमा रहेका अशक्त, दीर्घरोगी तथा वृद्धवृद्धा अभिभावक र आफन्तलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले करिब २५ वर्षअघि ‘प्यारेन्ट वेलनेस’ कार्यक्रम सञ्चालन गरेका थिए। नर्भिकले सोही अवधारणालाई अहिले हेल्थ एट होमसँगको सहकार्यमा निरन्तरता दिएको जनाएको छ।
पछिल्लो समय वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कारणले युवापुस्ता विदेशिने क्रम बढ्दो छ। यसका कारण नेपालमा रहेका वृद्ध आमाबुबा तथा आफन्तहरू स्वास्थ्य समस्या पर्दा अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका छन्। कतिपय अवस्थामा नियमित स्वास्थ्य जाँच र हेरचाहका लागि समेत उनीहरू अरूको भर पर्नुपर्ने अवस्था छ।
यही अवस्थालाई लक्षित गर्दै हेल्थ एट होमले बिरामीको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। नर्भिकसँगको सहकार्यपछि यस्तो सेवामा विशेषज्ञ चिकित्सकीय परामर्शदेखि अस्पताल रेफरलसम्मको सुविधा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
घरमै स्वास्थ्य सेवा आवश्यक पर्ने व्यक्तिले सेवा लिन हेल्थ एट होमको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
