काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानिफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजदेखि सुरु भएको छ।
एक्स्पोको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन्।
साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पो गत वर्षको तुलनामा अझ भव्य र व्यवस्थित हुने आयोजकले जनाएको छ। एक्स्पोका संयोजक गौरव शारडाले यसपटक प्रदर्शनीलाई थप आकर्षक बनाइएको बताए।
नाइमा एक्स्पोमा ५५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड सहभागी हुँदैछन्। एक्स्पो अवधिमा ४० भन्दा बढी नयाँ मोडलका सवारीसाधन सार्वजनिक तथा लन्च गरिने आयोजकले जनाएको छ।
प्रदर्शनीमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनका साथै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी विभिन्न उत्पादन प्रदर्शनमा राखिएका छन्।
भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण गरिएको छ। एक्स्पोमा हुन्डाई, बीवाईडी, निसान, टाटा, टोयोटा, किया र महिन्द्रालगायत चर्चित अटोमोबाइल ब्रान्डको सहभागिता रहेको आयोजकले जनाएको छ।
