काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार बोर्डको सचिवालयका नवनियुक्त कार्यकारी निर्देशक निर्मल कुमार उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथ ग्रहण गर्दै उप्रेतीले नेपालको संविधान तथा प्रचलित कानुनको पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्रालयले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन आह्वान गरी छनोट प्रक्रिया अघि बढाएको थियो। सो प्रक्रियाबाट सिफारिस भएका उप्रेतीलाई साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
उप्रेती मानवअधिकार, आप्रवासन, सुशासन, शान्ति निर्माण तथा न्यायमा पहुँचका क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय छन्। यसअघि उनले वैदेशिक रोजगार बोर्डअन्तर्गतको आप्रवासी स्रोत केन्द्रका व्यवस्थापक, प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का उपकार्यक्रम निर्देशक तथा इन्सेकमा मानवअधिकारसम्बन्धी विभिन्न जिम्मेवारी सम्हालेका थिए।
वैदेशिक रोजगार क्षेत्रमा लामो अनुभव भएका उप्रेतीको नेतृत्वमा बोर्डले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हित, संरक्षण तथा कल्याणसँग सम्बन्धित कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
