काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डष्ट्रिज पाल्पाले गत आर्थिक वर्षको नौ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ। कम्पनीले उत्पादन क्षमता उपयोगमा सुधार ल्याउँदै कारोबार विस्तार गरेको हो।
कम्पनीले सन् २०२४ मा १ अर्ब ७५ करोड ९० लाख रुपैयाँ र सन् २०२५ मा २ अर्ब ४६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो। पछिल्लो अवधिमा कारोबार वृद्धि भए पनि उद्योगको कुल लगानी र ऋण संरचनाको तुलनामा क्षमता उपयोग अझै कम रहेको देखिएको छ।
सीजी सिमेन्टले दैनिक २ हजार ९ सय ५० टन क्षमताको क्लिङ्कराइजेसन युनिट सञ्चालन गर्दै आएको छ। कम्पनीले सन् २०२३ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। साथै, दैनिक १ हजार टन क्षमताको ग्राइन्डिङ सिमेन्ट उत्पादन युनिट निर्माण प्रक्रियामा रहेको छ। कम्पनीले दैनिक २ हजार ८ सय टन सिमेन्ट उत्पादनको लाइसेन्स लिएको छ।
गत आर्थिक वर्षको नौ महिनामा क्लिङ्कर क्षमता उपयोग ४२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २५ प्रतिशत मात्र थियो। यसले उत्पादन सञ्चालनमा सुधार भएको देखाए पनि प्लान्ट निर्माणमा भएको ठूलो पुँजीगत खर्च र उच्च ऋणभारका कारण उद्योग पूर्ण क्षमतामा पुगेको छैन।
कम्पनीको कुल ऋण–सञ्चालन अनुपात १३.३ गुणा रहेको छ। क्लिङ्कराइजेसन युनिट ७९ः२१ को ऋण–इक्विटी संरचनामा निर्माण गरिएको थियो। उक्त परियोजनामा १३ अर्ब २३ करोड ७० लाख रुपैयाँ लगानी गरिएको कम्पनीले जनाएको छ।
कारोबार बढेसँगै मार्जिन र ऋण भुक्तानी क्षमतासम्बन्धी सूचकमा सुधार आएको छ। गत आर्थिक वर्षको नौ महिनामा ऋण सेवा कभरेज अनुपात १.० गुणा पुगेको छ, जबकि सन् २०२४ मा यो ०.३ गुणा मात्र थियो।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १३ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ। यसमध्ये १० अर्ब ९० करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ७५ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि रहेको छ।
चौधरी ग्रुपले यसअघि सन् २०१३ देखि अर्को सीजी सिमेन्ट इन्डष्ट्रिज कम्पनीमार्फत दैनिक १ हजार ५ सय टन सिमेन्ट बजारमा आपूर्ति गर्दै आएको छ। नयाँ पाल्पा परियोजनासँगै समूहले सिमेन्ट क्षेत्रमा आफ्नो उपस्थिति थप विस्तार गर्ने रणनीति अघि बढाएको देखिन्छ।
