तनहुँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देश विकास गर्ने लक्ष्यसहित नयाँ बजेट ल्याइएको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र तनहुँ पुगेका वाग्लेले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर दैनिक खर्च धान्नुपर्ने अवस्थाको अन्त्य गर्न करको दायरा विस्तार गरी आम्दानी बढाउने नीति लिइएको बताए।
उनले जनताको विकाससम्बन्धी अपेक्षाको तुलनामा मुलुकको आर्थिक क्षमता कमजोर रहेको र बाह्य ऋणसमेत महँगो बन्दै गएकाले नेपाललाई आफ्नै आम्दानीमा आत्मनिर्भर बनाउने दिशामा अघि बढ्नुको विकल्प नरहेको बताए।
‘हामी ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ। राज्यको नियमित र अत्यावश्यक दायित्व करिब १,३५० अर्ब रुपैयाँ छ, तर सरकारको आम्दानी करिब १,२५० अर्ब मात्रै छ,’ वाग्लेले भने। करको दायरा विस्तार र कर तिर्न प्रोत्साहनका कार्यक्रम यही अवस्थालाई सुधार्न ल्याइएको उनको भनाइ थियो।
वाग्लेले ‘ऋण पनि लिन नपर्ने, कर पनि तिर्न नपर्ने तर विकास भने जसरी पनि हुनुपर्ने’ सोचबाट सबै पक्ष माथि उठ्नुपर्ने बताए। करको दायरा विस्तार गर्दा नयाँ क्षेत्रमा कर थपिएको भन्ने गुनासोप्रति सरकारले सर्वसाधारणलाई अन्तिम कर दायित्वको अनावश्यक भारबाट जोगाउने उनले बताए।
सरकारले २,१२४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई चलायमान बनाएर करिब ६६ खर्ब रुपैयाँको अर्थतन्त्रलाई गति दिने लक्ष्य लिएको उनले बताए। प्रवासी नेपालीलाई समेत नेपालमा लगानी गर्न आकर्षित गर्ने वातावरण निर्माणको काम छिट्टै अघि बढाइने उनले जानकारी दिए।
