सुदूरपश्चिम । कैलालीको चिसापानी क्षेत्र साहसिक पर्यटनको नयाँ गन्तव्य बन्ने सम्भावना देखिएको छ। राजकाँडा–डुडेझारी क्षेत्रमा गरिएको पूर्वसम्भाव्यता अध्ययनले भौगोलिक बनोट, हावाको अवस्था र आसपासका पर्यटकीय गन्तव्यलाई आधार बनाएर प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ। निर्माणाधीन जाल्पादेवी केबलकारसँगै प्याराग्लाइडिङ, कर्णालीको जल पर्यटन, थारू संस्कृति, होमस्टे र राष्ट्रिय निकुञ्जलाई एउटै पर्यटन सर्किटमा जोड्न सके सुदूरपश्चिममा नयाँ पर्यटन अर्थतन्त्र विकास गर्न सकिने देखिएको छ।
राजकाँडादेखि डुडेझारीसम्म उडानको सम्भावना
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गराएको पूर्वसम्भाव्यता अध्ययनले मोहन्याल गाउँपालिका–७ स्थित राजकाँडालाई सम्भावित ‘टेकअफ’ क्षेत्र र लम्कीचुहा नगरपालिका–३ को डुडेझारीलाई सम्भावित ‘ल्यान्डिङ’ क्षेत्रका रूपमा पहिचान गरेको छ।
राजकाँडाको मालिका–जाल्पादेवी मन्दिर आसपासको भिरालो क्षेत्र तथा हात्तीढुंगा आसपासबाट उडान गर्न सकिने सम्भावना अध्ययनले देखाएको छ। चुरे पहाडको टाकुरामा रहेको यो क्षेत्र लम्की बजारबाट कच्ची सडक र चिसापानीबाट पैदलमार्ग हुँदै पुग्न सकिन्छ। अहिले निर्माणाधीन जाल्पादेवी केबलकारले राजकाँडा क्षेत्रसम्म पहुँचलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
अध्ययनका अनुसार चुरे पहाड र कर्णाली नदी उपत्यकाको भौगोलिक संरचनाले ‘भ्याली विन्ड’, ‘रिज लिफ्ट’ र ‘थर्मल एक्टिभिटी’ जस्ता प्याराग्लाइडिङका लागि उपयोगी हावाका अवस्था सिर्जना गर्न सक्ने सम्भावना छ।
तर सम्भाव्यता देखिनु व्यावसायिक उडानका लागि पर्याप्त आधार भने होइन। ‘टर्बुलेन्स’, ‘रोटर इफेक्ट’ र ‘विन्ड सियर’को जोखिम पहिचान भएकाले विभिन्न मौसममा परीक्षण उडान र थप प्राविधिक अध्ययन गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ।
अध्ययन टोली प्रमुख प्राडा प्रेम शर्माका अनुसार सम्भावनालाई व्यावसायिक अवसरमा बदल्न अब थप प्राविधिक तथा लगानीसम्बन्धी काम आवश्यक छ। अध्ययनले सम्भावनाको आधार देखाएको भए पनि त्यसलाई व्यावसायिक योजनामा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।
प्याराग्लाइडिङभन्दा ठूलो छ पर्यटनको हिसाब
राजकाँडा–डुडेझारीमा प्याराग्लाइडिङ सञ्चालन भयो भने यसको प्रभाव एउटा साहसिक खेलमा मात्रै सीमित नहुने देखिन्छ। कर्णाली नदी, चुरेका वन, थारू बस्ती, चिसापानी, टीकापुर पार्क, जाल्पादेवी, होमस्टे र आसपासका पर्यटकीय गन्तव्यलाई जोडेर बहुदिने पर्यटन प्याकेज बनाउन सकिने अध्ययनले देखाएको छ।
पाइलट, प्रशिक्षक र ग्राउन्ड स्टाफ प्रत्यक्ष रोजगारीका क्षेत्र बन्न सक्छन्। त्यसबाहेक होटल, होमस्टे, यातायात, रेष्टुरेन्ट, गाइड, फोटोग्राफी, हस्तकला र स्थानीय कृषि उत्पादनको बजार विस्तार हुनसक्छ।
प्याराग्लाइडिङ पाइलट तथा प्रशिक्षक रामप्रसाद राईका अनुसार कर्णाली नदी र चुरे क्षेत्रको प्राकृतिक दृश्य आफैंमा ठूलो पर्यटन उत्पादन बन्न सक्ने अवस्था छ। उनका अनुसार यसलाई व्यावसायिक योजनासँग जोड्न सके स्थानीय अर्थतन्त्रमा उल्लेख्य प्रभाव पार्न सकिन्छ।
मोहन्याल गाउँपालिका–७ का वडाध्यक्ष नवराज कठायतले पनि समुदायको सहभागितामा प्याराग्लाइडिङ अघि बढाउन सके स्थानीय रोजगारी र आम्दानीको नयाँ आधार बन्न सक्ने बताएका छन्।
लम्कीचुहा नगरपालिका–३ का अध्यक्ष लबबहादुर शाहीले भने प्याराग्लाइडिङलाई जल पर्यटन, केबलकार र राष्ट्रिय निकुञ्जको सफारीसँग जोडेर समग्र पर्यटन योजनाका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
एउटा उडान, धेरै गन्तव्य
राजकाँडा–डुडेझारीको सबैभन्दा ठूलो व्यावसायिक सम्भावना यसलाई छुट्टै पर्यटकीय गतिविधि बनाउनुमा होइन, वरपरका गन्तव्यसँग जोड्नुमा देखिन्छ।
राजकाँडाबाट उडान गर्ने पर्यटकले कर्णाली नदी, चुरेका डाँडा, तराईका फाँट र बस्तीको दृश्य एकैपटक अवलोकन गर्न सक्छ। त्यसपछि जाल्पादेवी मन्दिर, केबलकार, चिसापानीको र्याफ्टिङ तथा कायाकिङ, टीकापुर पार्क, थारू संस्कृति र होमस्टेलाई यात्रामा जोड्न सकिन्छ।
त्यसलाई अझ विस्तार गरेर घोडाघोडी ताल, बर्दिया राष्ट्रिय निकुञ्ज, मोहना नदीका डल्फिन क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पर्यटन सञ्जाल बनाउन सकिने अध्ययन टोलीको भनाइ छ।
यसरी प्याराग्लाइडिङ एउटा छुट्टै टिकट बेच्ने गतिविधिबाट बहुदिने पर्यटन प्याकेजमा रूपान्तरण हुन सक्छ। पर्यटक आकाशमा उडेर फर्किने मात्र होइन, केबलकार चढ्ने, नदीमा रमाउने, होमस्टेमा बस्ने, स्थानीय खाना खाने र स्थानीय उत्पादन खरिद गर्ने अवस्थामा पुग्न सक्छ। वास्तविक आर्थिक लाभ यहीँबाट सिर्जना हुने हो।
लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपककुमार तिमिल्सिनाका अनुसार पर्यटकको बसाइ लम्ब्याउन सके होटल, होमस्टे, यातायात र स्थानीय बजारमा निजी लगानी बढ्न सक्छ।
केबलकारपछि कार्यान्वयनको परीक्षा
राजकाँडा–डुडेझारीको सम्भावनालाई निर्माणाधीन जाल्पादेवी केबलकारले थप बल दिएको छ। केबलकारले पर्यटकलाई उडान क्षेत्रसम्म पुर्याउने पूर्वाधारको काम गर्न सक्छ भने प्याराग्लाइडिङले त्यही क्षेत्रलाई अर्को साहसिक अनुभवसँग जोड्न सक्छ।
जाल्पादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रराज ढकालका अनुसार सरकारले नीतिगत आधार तयार गर्ने, निजी क्षेत्रले लगानी गर्ने र स्थानीय समुदायले अपनत्व लिने वातावरण बने सम्भावनालाई व्यावसायिक गतिविधिमा बदल्न सकिन्छ।
तर अहिलेको सबैभन्दा ठूलो प्रश्न सम्भावना होइन, कार्यान्वयन हो। प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख डबलबहादुर बोहराका अनुसार व्यावसायिक उडानअघि ‘टेकअफ–ल्यान्डिङ’ क्षेत्रको व्यवस्थापन, सुरक्षा प्रणाली, मौसमसम्बन्धी तथ्यांक, परीक्षण उडान, दक्ष पाइलट, हवाई क्षेत्रसम्बन्धी स्वीकृति, बीमा र आपत्कालीन उद्धार प्रणाली सुनिश्चित गर्नुपर्नेछ।
त्यससँगै विस्तृत लागत–लाभ विश्लेषण र वित्तीय प्रक्षेपण आवश्यक छ। निजी क्षेत्रसँग साझेदारीको स्पष्ट ढाँचा र स्थानीय समुदायको क्षमता विकास पनि उत्तिकै महत्वपूर्ण रहनेछ।
सुदूरपश्चिममा पर्यटनको सम्भावना नयाँ होइन। समस्या सम्भावना पहिचान गरेर त्यसलाई व्यवसायमा बदल्ने चरणमा देखिँदै आएको हो। राजकाँडा–डुडेझारीको अध्ययनले भने पहिलोपटक चुरेको टाकुरादेखि कर्णालीको किनारसम्मको पर्यटनलाई साहसिक गतिविधिसँग जोड्ने ठोस आधार देखाएको छ।
