Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विद्युत प्राधिकरणको आम्दानी १ खर्ब ६६ अर्ब पुग्यो

विद्युत प्राधिकरणको आम्दानी १ खर्ब ६६ अर्ब पुग्यो
अ+ अ-

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा विद्युत बिक्री तथा अन्य आम्दानीबाट १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणले स्थापनाको ४१औँ वर्ष प्रवेशका अवसरमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा विद्युत उत्पादन, प्रसारण, वितरण, व्यापार र वित्तीय क्षेत्रमा उल्लेख्य प्रगति भएको जनाएको छ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्षको अन्त्यसम्म नेपालको कुल जडित विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ। एक वर्षमै राष्ट्रिय प्रणालीमा ५२९ मेगावाट विद्युत थपिएको छ।

प्राधिकरणका ग्राहकको संख्या ३.८५ प्रतिशतले बढेर ५९ लाख २७ हजार पुगेको छ। कुल ग्राहकमा घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत र औद्योगिक ग्राहकको हिस्सा १.२० प्रतिशत रहेको छ।

विद्युत बिक्रीबाट प्राप्त आम्दानी अघिल्लो वर्षको तुलनामा १८.२० प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। विद्युत चुहावट नियन्त्रण र विद्युत निर्यातमा भएको वृद्धिले प्राधिकरणको कुल नाफा १३.७० प्रतिशतले बढाएर ३१ अर्ब २३ करोड रुपैयाँ पुर्‍याएको छ। सञ्चालन नाफा भने २४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।

तर विदेशी विनिमय दरमा भएको वृद्धि, ह्रासकट्टी र ब्याज खर्चका कारण करअघिको खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ। विदेशी विनिमय दरमा भएको वृद्धिका कारण प्राधिकरणको दायित्व २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।

उत्पादन र प्रसारणमा विस्तार

गत आर्थिक वर्षमा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ भने ४० मेगावाटको राहुघाट आयोजना परीक्षणको चरणमा पुगेको छ।

प्रसारणतर्फ कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै कर्णाली प्रदेश पहिलोपटक १३२ केभी प्रसारण सञ्जालमा जोडिएको छ। खिम्ती–बाह्रबिसे ४०० केभी र मर्स्याङ्दी–भरतपुर २२० केभी प्रसारण लाइन पनि सञ्चालनमा आएका छन्।

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आगामी कात्तिकसम्म सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले राखेको छ। हाल देशभर उच्च भोल्टेज प्रसारण लाइनको लम्बाइ ७ हजार ११० सर्किट किलोमिटर पुगेको छ भने सबस्टेसनको कुल क्षमता १५ हजार ५४१ एमभीए पुगेको छ।

वितरणतर्फ काठमाडौं, भरतपुर र पोखरामा भूमिगत वितरण प्रणाली निर्माणको काम भइरहेको छ।

निजी क्षेत्रबाट ५२९ मेगावाट थप

निजी क्षेत्रका २३ आयोजनाबाट गत वर्ष ५२८.८९ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपिएको छ। हाल १२ हजार १३५ मेगावाट क्षमताका ५४५ आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको प्राधिकरणले जनाएको छ।

विद्युत व्यापारमा पनि नेपालले उल्लेख्य वृद्धि गरेको छ। गत आर्थिक वर्षमा नेपालले १० अर्ब ५६ करोड रुपैयाँ बराबरको विद्युत आयात गर्दा २९ अर्ब ३१ करोड रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। अघिल्लो वर्षको तुलनामा विद्युत निर्यात ६८ प्रतिशतले बढेको हो।

भारतसँग विद्युत व्यापार विस्तार गर्न बुटवल–गोरखपुर र ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी महत्त्वपूर्ण निर्णय भएका छन्।

२०३५ सम्म २८ हजार ५०० मेगावाट लक्ष्य

नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। उक्त लक्ष्य पूरा गर्न प्राधिकरणले ठूला जलाशययुक्त आयोजना, पम्प स्टोरेज र सौर्य ऊर्जालाई प्राथमिकता दिने जनाएको छ।

यसै वर्ष बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन सञ्चालनमा ल्याउने र चिलिमे–केरुङ प्रसारण लाइन निर्माण सुरु गर्ने योजना रहेको छ।

एआईदेखि हरित हाइड्रोजनसम्म

प्राधिकरणले आगामी दिनमा विद्युत सेवा प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने रणनीति अघि सारेको छ। त्यसका लागि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित डाटा सेन्टर, एआई च्याटबट र स्मार्ट मिटर जडानलाई तीव्रता दिने योजना छ।

विद्युतको आन्तरिक खपत बढाउन हरित हाइड्रोजनलाई समेत प्राथमिकतामा राखिएको छ। प्राधिकरणले हेटौँडामा इलेक्ट्रोलाइजर स्थापना गरी हरित एमोनिया र मिथानोल उत्पादन विकास गर्ने योजना अघि बढाएको छ।

प्राधिकरणका अनुसार यी पहलले विद्युत उत्पादन र प्रसारण पूर्वाधार विस्तारसँगै आन्तरिक खपत बढाउने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने र नेपाललाई क्षेत्रीय स्वच्छ ऊर्जा बजारमा स्थापित गर्न सहयोग पुग्नेछ।

2