काठमाडौं। ऊर्जा उद्यमी तथा इप्पान उपाध्यक्ष सुसन कर्माचार्यको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लाग्ने चरणमा पुगेको छ। कालिकोटको तिला खोलामा एससी पावर कम्पनीले निर्माण गर्ने आयोजनामा १४ अर्ब रुपैयाँभन्दा बढी स्वपुँजी र बाँकी बैंक ऋणबाट लगानी जुटाइने भएको छ।
आयोजनामा एनएमबी बैंकसहित ग्लोबल आईएमई, प्रभु, हिमालयन, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया, कृषि विकास, सानिमा र एभरेस्ट बैंकले ऋण लगानी गर्नेछन्। नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा गरिमा, मुक्तिनाथ र शाइन रेसुङ्गा विकास बैंक पनि ऋण लगानीमा सहभागी हुनेछन्।
आयोजनाका प्रवर्द्धकका अनुसार बैंकसँगका केही प्राविधिक प्रक्रिया टुंगिन बाँकी छन्। ती प्रक्रिया पूरा भएपछि वित्तीय बन्दोबस्तसम्बन्धी सम्झौता गर्ने तयारी छ।
विद्युत् विकास विभागले २०७५ भदौ ८ गते आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको थियो। कुल ४४० मेगावाट क्षमताको आयोजनामध्ये हाल २९८ मेगावाटको मात्रै विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। बाँकी १४२ मेगावाटको पीपीए हुन बाँकी रहेकाले तत्काल २९८ मेगावाट निर्माणका लागि स्रोत सुनिश्चित गरिएको छ।
२९८ मेगावाटका लागि करिब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ भने पूर्ण ४४० मेगावाट निर्माण गर्दा लागत करिब ७० अर्ब रुपैयाँ पुग्ने अनुमान छ।
कर्माचार्यको नेतृत्वमा २४ मेगावाटको मादमे खोला, ७.२७ मेगावाटको याम्बालिङ र ५ मेगावाटको इस्टर्न हाइड्रोपावर सञ्चालनमा छन्। उनी संलग्न २०३ मेगावाटको माथिल्लो बूढीगण्डकी, ८६.५९ मेगावाटको लान्द्रुक मोदी र ८.४७ मेगावाटको मेन्चेत खोला आयोजना निर्माणाधीन छन्।
