काठमाडौं। सेयर बजारमा एउटा चर्चित भनाइ छ-‘किन्न सबैले सिकाउँछन्, तर बेच्न कसैले सिकाउँदैन।’ बजारमा प्रवेश गर्ने अधिकांश लगानीकर्ताले नाफाको सम्भावना देख्छन्, तर जोखिम व्यवस्थापन र सही समयमा बाहिरिने निर्णय उत्तिकै महत्वपूर्ण हुन्छ।
सेयर बजार मूलतः लोभ र डरले प्रभावित हुने क्षेत्र हो। बजार कति तल झर्छ वा कति माथि पुग्छ भन्ने ठ्याक्कै अनुमान गर्न कठिन हुन्छ। विश्लेषकहरूले समेत उपलब्ध तथ्य र प्रवृत्तिका आधारमा सम्भावित दिशा मात्र औंल्याउने गर्छन्।
पछिल्लो समय, विशेषगरी जेन्जी आन्दोलनपछि, बजारमा लगानीकर्ताको रोजाइमा केही परिवर्तन देखिएको छ। छोटो अवधिमै उच्च प्रतिफल खोज्ने लगानीकर्ता उच्च उतारचढाव अर्थात् ‘हाई बिटा’ भएका कम्पनीतर्फ आकर्षित भएका छन्। बजारमा चर्चित केही ‘जेन्जी स्टक’ यसै प्रवृत्तिका उदाहरण हुन्।
तर बजारको सामान्य सूचकमा आएको सानो गिरावटले समेत यस्ता स्टकमा ठूलो असर देखिएको छ। पछिल्लो तीन महिनामा समग्र बजार सूचक ३.१६ प्रतिशत मात्रै घट्दा केही जेन्जी स्टकमा लगानीकर्ताले ठूलो मूल्यह्रास व्यहोरेका छन्।
यस अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ४८ प्रतिशतले घटेको छ। त्यस्तै, थ्री स्टार हाइड्रोपावर र कुथेली बुखरी हाइड्रोपावरको सेयर करिब ४० प्रतिशतले ओरालो लागेको छ।
झापा इनर्जी र अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्यमा पनि करिब ३१ प्रतिशतको गिरावट आएको छ। रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब ३० प्रतिशत घटेको छ।
समग्र बजारमा आएको सीमित करेक्सनको तुलनामा यी कम्पनीमा देखिएको ठूलो गिरावटले उच्च बिटा स्टकमा नाफाको सम्भावनासँगै जोखिम पनि उत्तिकै उच्च हुने देखाएको छ। छोटो अवधिको नाफा पछ्याउने लगानीकर्ताका लागि बजारको दिशा मात्र होइन, कम्पनीको आधारभूत अवस्था र जोखिमसमेत मूल्यांकन गर्नुपर्ने आवश्यकता यसले देखाएको छ।
