सिड्नी। अस्ट्रेलियाका सिनेटर एन्ड्र्यु ब्रागले नेपाली–अस्ट्रेलियन समुदायको उद्यमशीलता, सीप र समुदाय निर्माणमा रहेको योगदानको प्रशंसा गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
न्यु साउथ वेल्सबाट सिनेटमा प्रतिनिधित्व गर्ने लिबरल पार्टीका नेता ब्रागले सिड्नीमा फेडरेसन अफ इन्टरनेसनल नेपाली युथले आयोजना गरेको अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनमा सहभागी हुँदै नेपाली समुदायसँग उद्यमशीलता र व्यावसायिक क्षमताको बलियो आधार रहेको बताए।
उनले भविष्यमा नेपाली मूलका अस्ट्रेलियनलाई संघीय संसद्मा प्रतिनिधित्व गरेको देख्न चाहेको समेत बताए। ‘हामी त्यो दिनको प्रतीक्षामा छौँ, जुन दिन नेपाली मूलका अस्ट्रेलियनलाई अस्ट्रेलियाको संसद् सदस्यका रूपमा देख्न सकिनेछ। आशा छ, त्यो प्रतिनिधित्व लिबरल पार्टीबाट हुनेछ,’ उनले भने।
ब्रागका अनुसार अस्ट्रेलियाको बहुसांस्कृतिक अर्थतन्त्रमा विभिन्न आप्रवासी समुदायको योगदान महत्वपूर्ण छ। नेपाली समुदायले व्यवसाय, सीप र समुदाय निर्माणमार्फत आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको उनले बताए।
उनले पछिल्लो निर्वाचनमा म्याकआर्थर निर्वाचन क्षेत्रबाट बर्नार्ड पौडेल तथा त्यसअघि बार्टन निर्वाचन क्षेत्रबाट पीजे श्रेष्ठलाई लिबरल पार्टीले उम्मेदवार बनाएको उल्लेख गरे।
नेपाली मूलका व्यक्तिहरूको राजनीतिक तथा आर्थिक सहभागिता बढ्दै जानु सकारात्मक भएको भन्दै ब्रागले आगामी दिनमा संघीय संसद्मा नेपाली–अस्ट्रेलियन समुदायको प्रतिनिधित्व हुने अपेक्षा व्यक्त गरे।
ब्रागले सिड्नीमा आयोजित सम्मेलनका क्रममा नेपाली युवा उद्यमी, डायस्पोरा समुदाय तथा नेपालका सांसदसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको बताए। नेपाली समुदायसँग रहेको सीप र उद्यमशीलतालाई अस्ट्रेलियाको आर्थिक विकाससँग जोड्न सकिने उनको भनाइ थियो।
