काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ८५ अर्ब रुपैयाँ निक्षेपका रूपमा खिच्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै १७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ८५ अर्ब रुपैयाँ संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।
राष्ट्र बैंकका अनुसार बोलकबोल भदौ ५ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ । निक्षेप संकलन उपकरण पनि सोही दिन निष्कासन गरिनेछ । यसको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुनेछ ।
संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी माघ २९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ८५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिनेछ ।
निक्षेप संकलन उपकरणमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् । एउटै संस्थाले फरक–फरक ब्याजदर प्रस्ताव गर्दै एकभन्दा बढी बोलपत्र पेस गर्न सक्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरबाट क्रमशः बोलपत्र स्वीकार गर्दै कुल आह्वान रकम बराबर नपुगेसम्म बाँडफाँट गर्ने जनाएको छ । एउटै ब्याजदरमा माग गरिएको रकम आह्वान रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा रकम बाँडफाँट गरिनेछ ।
खुला बजार कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार गर्न वा अस्वीकार गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । तर, यसमा लगानी गरिएको रकम अनिवार्य नगद मौज्दात अर्थात् सीआरआरमा गणना गर्न पाइने छैन ।
यद्यपि, राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार उक्त रकम वैधानिक तरलता अनुपात अर्थात् एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ ।
बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी तरलता रहेको अवस्थामा राष्ट्र बैंकले निक्षेप संकलनलगायतका मौद्रिक उपकरणमार्फत रकम खिच्ने गर्छ । यसले प्रणालीमा रहेको तरलताको मात्रा व्यवस्थापन गर्न तथा ब्याजदरमा स्थिरता कायम गर्न सहयोग पुग्ने गर्छ ।
