Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पीपीएको ढोका खुल्यो, बाटो बन्द

चार वर्षपछि पीपीए खुल्दा १६ हजार मेगावाटका आयोजना उत्साहित छन्, तर बजार, प्रसारण र लगानी सुरक्षाको चुनौती कायमै छ।

पीपीएको ढोका खुल्यो, बाटो बन्द
अ+ अ-

काठमाडौं । चार वर्षदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) फेरि खोल्ने सरकारको पछिल्लो कदमले जलविद्युत् क्षेत्रका प्रवर्द्धकलाई केही राहतको संकेत दिएको छ । तर समस्या पीपीएको ढोकामै मात्र अड्किएको छैन । करिब १६ हजार ४ सय २५ मेगावाट क्षमताका २ सय ८१ आयोजना सम्झौताको पर्खाइमा रहँदा सरकारले अब कुन आयोजनालाई पीपीए दिने, कुनलाई नदिने, उत्पादित बिजुली कहाँ बेच्ने, प्रसारण लाइन कसरी पुर्‍याउने र बैंकको ऋण कसरी सुरक्षित गर्ने भन्ने मूल प्रश्नको जवाफ दिनुपर्ने अवस्था छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले बिहीबार पीपीएको नयाँ मापदण्ड तयार गर्न सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिलाई सात दिनभित्र मापदण्ड तयार गरी बोर्डमा पेस गर्ने जिम्मेवारी दिइएको छ । विद्युत् विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडीई शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा तथा प्राधिकरणको व्यापार शाखाका निर्देशक सदस्यसचिव रहेको उपसमितिले यसअघि मन्त्रालयले तयार गरेको प्रतिवेदन र पीपीएका लागि परेका आवेदनको अवस्था अध्ययन गर्नेछ ।

यो निर्णय आफैंमा सकारात्मक छ । तर चार वर्षको अवरोध हटाउने नाममा केवल आवेदन खोलियो र सम्झौता गरियो भने समस्या समाधान हुँदैन । बरु अहिले पीपीएको लाइनमा रहेका आयोजनामध्ये कुन वास्तवमै निर्माणयोग्य छन्, कुनको बिजुलीका लागि बजार छ र कुन आयोजना केवल कागजमा छन् भन्ने छुट्याउनुपर्ने चुनौती सरकारसामु छ ।

१६ हजार मेगावाटको गाँठो

नेपाल विद्युत् प्राधिकरणका पछिल्लो विवरणअनुसार पीपीएको पर्खाइमा रहेका आयोजनाको कुल क्षमता १६ हजार ४ सय २५.७७ मेगावाट पुगेको छ । यसमध्ये ग्रिड कनेक्सन सम्झौता गरिसकेका १० हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना छन् । २ हजार ५ सय ५६.३० मेगावाटका १०२ आयोजना नदी प्रवाही अर्थात् आरओआर, ५ हजार २७६.३० मेगावाटका ३१ आयोजना अर्धजलाशययुक्त र १ हजार ४९१ मेगावाटका दुई आयोजना जलाशययुक्त छन् । पीपीएका लागि आवेदन दिएका आयोजनामध्ये थप १ हजार ८७४.८८ मेगावाटका १२२ आरओआर, १ हजार ५४८.२९ मेगावाटका १९ अर्धजलाशययुक्त र ३ हजार ६७९ मेगावाटका पाँच जलाशययुक्त आयोजना छन् ।

अर्थात् अहिले प्राधिकरणको टेबलमा रहेको समस्या एउटा–दुई आयोजना वा केही सय मेगावाटको होइन । करिब १६.४ गिगावाटको सम्भावित उत्पादन क्षमता पीपीएको निर्णयसँग जोडिएको छ ।

त्यसको अर्को अर्थ लगानीको जोखिम पनि असाधारण रूपमा ठूलो हुनु हो । ऊर्जा प्रवर्द्धकहरूले सर्वेक्षण अनुमतिपत्रदेखि अध्ययन, वातावरणीय परीक्षण, ग्रिड कनेक्सन र पीपीएसम्म पुग्दा प्रतिमेगावाट करिब ५० देखि ६० लाख रुपैयाँ खर्च भइसकेको बताउँदै आएका छन् । १६ हजार ४ सय २५ मेगावाटको सम्पूर्ण क्षमतामा यही औसत लागत लागू गर्ने हो भने पूर्वनिर्माण चरणमै करिब ८२ खर्ब होइन, ८२ अर्बदेखि ९९ अर्ब रुपैयाँ हाराहारी लगानीको जोखिम जोडिन्छ ।

इप्पानको अध्ययनले सञ्चालनमा आएका, निर्माणाधीन, अनुमतिपत्र तथा अध्ययनका विभिन्न चरणमा रहेका ९२३ आयोजनामा १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको देखाएको छ । यसको अर्थ जलविद्युत् अहिले निजी क्षेत्रको एउटा सानो व्यवसाय मात्र होइन, बैंकिङ प्रणाली, निर्माण व्यवसाय, बीमा, सेयर बजार, स्थानीय अर्थतन्त्र र समग्र लगानी चक्रसँग जोडिएको ठूलो क्षेत्र भइसकेको छ ।

तर समस्या यहीँ छ । आयोजनाले पीपीए नपाएसम्म बैंकको ऋण लगानी सुरक्षित हुँदैन । बैंकले उत्पादन हुने बिजुलीको खरिद सुनिश्चित नभएको आयोजनामा अर्बौं रुपैयाँ ऋण दिन जोखिम मान्छ । त्यसैले सर्वेक्षणदेखि डीपीआरसम्म निजी क्षेत्रले पैसा हालेर बसे पनि वास्तविक निर्माणका लागि आवश्यक ठूलो ऋण प्रवाह पीपीएमा आएर रोकिन्छ ।

सरकारले चार वर्षदेखि यही गाँठो फुकाउन सकेको छैन ।

पीपीए मात्रै खोल्दा पुग्दैन

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको तत्काल पीपीए गर्ने घोषणा गरेको थियो । त्यस्तै सुक्खायाममा प्रतिस्पर्धात्मक ढंगले विद्युत् खरिददर निर्धारण गरी पीपीए गर्ने नीति पनि बजेटमा राखिएको छ । पीपीए भइसकेका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गरी ‘टेक अर पे’ अवधारणामा नयाँ पीपीए गर्ने व्यवस्था ल्याउने घोषणा पनि भएको छ ।

तर बजेटमा घोषणा भएको दुई महिनाभन्दा बढी समयसम्म १० मेगावाटमुनिका आयोजनाको पीपीएसमेत व्यवहारमा अघि बढ्न नसकेको भन्दै निजी क्षेत्रले प्रश्न उठाउँदै आएको थियो । अहिले गठन भएको उपसमिति त्यसैको कार्यान्वयनतर्फको पहिलो ठोस कदम हो ।

सरकारले अब गर्नुपर्ने काम भने संख्या गनेर पीपीए गर्नु होइन । आयोजनाको वास्तविक अवस्था छुट्याउनु हो ।

उपसमितिले यही कारण वातावरणीय स्वीकृति, वन क्षेत्रको अवस्था, अदालतका आदेश, प्रसारण लाइनको उपलब्धता, ग्रिड कनेक्सन, आयोजनाको मास्टर प्लान, आयोजना निर्माणको सम्भाव्यता र निर्यात बजारलाई आधार बनाउने बताएको छ । यसले पीपीए वितरणमा विगतको जस्तो एउटै ढाँचा सबै आयोजनामा लागू गर्नेभन्दा परियोजनाको वास्तविक अवस्थाअनुसार वर्गीकरण गर्ने संकेत दिएको छ ।

यो आवश्यक पनि छ । किनभने पीपीए गरिदिएपछि मात्र आयोजना निर्माण हुन्छ भन्ने ग्यारेन्टी छैन । विगतमा पीपीए भइसकेर पनि निर्माण सुरु नगरेका आयोजना छन् । सरकारले यही कारण निर्माण सुरु नगरेका आयोजनाको पीपीए पुनरावलोकन र ‘टेक अर पे’मा लैजाने नीति अघि सारेको हो ।

तर ‘टेक अर पे’को जोखिम निजी क्षेत्रमाथि मात्र थोपरेर नयाँ लगानी ल्याउन पनि सकिँदैन । बैंकले ऋण दिने आधार कमजोर भयो भने पीपीए भएर पनि वित्तीय व्यवस्थापन हुन सक्दैन । त्यसैले सरकारको नयाँ मापदण्डले आयोजना छनोटसँगै बैंकिङ जोखिम, विद्युत् बजार र प्रसारण क्षमताबीच सन्तुलन कायम गर्नुपर्ने देखिन्छ ।

बिजुली उत्पादनभन्दा बजार ठूलो प्रश्न

नेपालमा अहिले मुख्य विरोधाभास यही हो । एकातिर उत्पादन बढाउने लक्ष्य छ, अर्कोतिर उत्पादन भएको बिजुलीको बजार र प्रसारण पूर्वाधार पर्याप्त छैन ।

नेपाल विद्युत् प्राधिकरणको २०२४/२५ को वार्षिक प्रतिवेदनअनुसार घरेलु विद्युत् खपत ११ हजार ३४३ गिगावाट घण्टा पुगेको थियो, जुन अघिल्लो वर्षभन्दा १०.७४ प्रतिशत बढी हो । त्यही वर्ष भारततर्फ २ हजार ३८० गिगावाट घण्टा विद्युत् निर्यात भयो र नेपाल ६९९ गिगावाट घण्टा खुद निर्यातकर्ता बन्यो । प्रणालीको उच्चतम माग २ हजार ९०१ मेगावाटसम्म पुगेको थियो ।

यो तथ्यले एउटा कुरा स्पष्ट पार्छ । नेपालको विद्युत् माग बढिरहेको छ, तर १६ हजार मेगावाट नयाँ आयोजना थपिँदा त्यसको सम्पूर्ण बिजुली तत्काल नेपालभित्र खपत हुने अवस्था छैन ।

त्यसैले आगामी जलविद्युत् विकासको आधार घरेलु बजार मात्र हुन सक्दैन । भारत र बंगलादेशजस्ता छिमेकी बजारमा निर्यात गर्ने संरचना समानान्तर रूपमा विकास गर्नुपर्ने हुन्छ ।

प्राधिकरणले २०२४/२५ मा भारतका लागि २८ आयोजनाबाट ९३६.७२ मेगावाट निर्यात स्वीकृति पाएको र थप २०० मेगावाट क्षमताका आयोजनाका लागि प्रक्रिया अघि बढेको जनाएको थियो । त्यही अवधिमा बंगलादेशतर्फ भारतीय प्रसारण प्रणाली प्रयोग गरी ४० मेगावाट विद्युत् निर्यात सुरु भएको थियो ।

तर १६ हजार मेगावाट पीपीएको लाइनमा राखेर बजार खोज्ने काम उल्टो दिशाबाट अघि बढाउन सकिँदैन । कुन बिजुली स्वदेशमा बेच्ने, कुन भारत वा बंगलादेशमा निर्यात गर्ने र कुन आयोजना कुन बजारलाई लक्षित गर्ने भन्ने स्पष्ट व्यापार रणनीति आवश्यक हुन्छ ।

सरकारकै एकीकृत विद्युत् प्रणाली विकास योजनाले २०३५ सम्म करिब २८ हजार मेगावाटको आन्तरिक विद्युत् आत्मनिर्भरता हासिल गर्ने र त्यसपछि क्षेत्रीय बजारमा स्वच्छ विद्युत् निर्यात विस्तार गर्ने परिकल्पना गरेको छ । ऊर्जा विकास रोडम्यापमा २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादनको लक्ष्यसँगै आन्तरिक माग र निर्यात दुवै बढ्ने प्रक्षेपण गरिएको छ ।

यसको अर्थ आजको पीपीए निर्णयले १० वर्षपछिको बजारसमेत हेर्नुपर्ने हुन्छ । केवल अहिलेको खपतलाई आधार बनाएर पीपीए रोक्ने हो भने भविष्यको उत्पादन लक्ष्य पूरा हुँदैन । तर बजार नहेरी सबै आयोजनाको पीपीए गर्ने हो भने प्राधिकरणमाथि खरिद दायित्वको ठूलो जोखिम थपिन्छ ।

यही दुई ध्रुवबीच सन्तुलन खोज्नु अहिलेको सबैभन्दा ठूलो नीतिगत परीक्षा हो ।

प्रसारण लाइन अझै अर्को तगारो

जलविद्युत् क्षेत्रमा पीपीएपछि आउने सबैभन्दा ठूलो प्रश्न प्रसारण लाइन हो । आयोजना बन्यो तर उत्पादित बिजुली ग्रिडमा जोड्न सकिएन भने पीपीएको आर्थिक मूल्य नै कमजोर हुन्छ ।

प्राधिकरणले चालु वर्षहरूमा उत्पादन क्षमता तीव्र गतिमा बढिरहेको देखाएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा २५ जलविद्युत् तथा सौर्य आयोजनाबाट करिब ५६१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिएको थियो । अघिल्लो आर्थिक वर्षमा करिब ४३४ मेगावाट थपिएको थियो ।

तर उत्पादनको गति र प्रसारण पूर्वाधार निर्माणको गति एउटै छैन । यही कारण कतिपय आयोजना निर्माण सम्पन्न भए पनि पूर्ण क्षमतामा विद्युत् प्रवाह गर्न नसक्ने जोखिममा छन् ।

निजी क्षेत्रले नयाँ प्रसारण लाइनका टेन्डर, वितरण प्रणालीको स्तरोन्नति र निजी क्षेत्रलाई प्रसारण संरचना निर्माणमा सहभागी गराउने विषयलाई निरन्तर उठाउँदै आएको छ । आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र ह्विलिङ चार्ज लिएर विद्युत् व्यापार गर्न सक्ने कानुनी व्यवस्था मिलाउने घोषणा गरेको छ ।

तर घोषणा र कार्यान्वयनबीचको दूरी फेरि पनि मुख्य समस्या हो ।

विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने भनिए पनि त्यसका लागि बजार, नेटवर्क, नियमन, ह्विलिङ शुल्क, सन्तुलन प्रणाली र सीमा–पार व्यापारको स्पष्ट नियम चाहिन्छ ।

विद्युत् नियमन आयोगले खुला पहुँचसम्बन्धी निर्देशिकाको मस्यौदा अघि बढाएको छ । आयोगको प्रस्तावित व्यवस्थाले दीर्घकालीन, मध्यमकालीन र अल्पकालीन खुला पहुँचको वर्गीकरण गरेको छ र उपलब्ध प्रसारण तथा वितरण क्षमताका आधारमा खुला पहुँच दिने प्रस्ताव गरेको छ ।

तर यही तथ्यले समस्या पनि देखाउँछ । बजार खोल्ने नीति तयार हुँदै गर्दा प्रसारण प्रणालीको उपलब्ध क्षमता नै सीमित भयो भने निजी विद्युत् व्यापार कागजमै सीमित हुन सक्छ ।

त्यसैले पीपीए, विद्युत् व्यापार र प्रसारण लाइनलाई छुट्टाछुट्टै विषयका रूपमा हेर्ने पुरानो शैली बदल्नुपर्ने देखिन्छ ।

वनदेखि आरसीओडीसम्मको अर्को जालो

जलविद्युत् आयोजना निर्माणमा पैसा मात्र पर्याप्त हुँदैन । वन क्षेत्र, रुख कटान, जग्गा प्राप्ति, वातावरणीय स्वीकृति, प्रसारण लाइन र स्थानीय तहसँगको समन्वयमा वर्षौं लाग्ने गरेको छ ।

त्यसमाथि आयोजनाले पीपीए पाएपछि निर्माण पूरा गर्नुपर्ने समयसीमा अर्थात् आरसीओडी अर्को जोखिम बनेको छ । प्राकृतिक विपत्ति, प्रसारण लाइन निर्माणमा ढिलाइ, जग्गा प्राप्ति र वनसम्बन्धी अनुमति नपाउँदा समयमै उत्पादन सुरु गर्न नसकेका आयोजनाले बैंक ऋणको ब्याज, निर्माण लागत र अनुमति अवधि सबैको दबाब खेप्नुपर्छ ।

इप्पानले यसअघि नै बाढीपहिरो, भूकम्प, जग्गा प्राप्ति, रुख कटान तथा प्रसारण लाइन अभावजस्ता कारणले आरसीओडी प्रभावित भएका आयोजनालाई समय थप गर्नुपर्ने माग गर्दै आएको छ ।

सरकारले बजेटमार्फत जलविद्युत् आयोजनाको अनुमति अवधि सकिएपछि वनको जग्गा भोगाधिकार र रुख कटानबापत लाग्ने शुल्क समायोजन गर्ने नीति पनि अघि सारेको छ । तर व्यवहारमा आयोजना निर्माणको प्रत्येक चरणमा अलग–अलग कार्यालय धाउनुपर्ने अवस्था कायम रहेसम्म लगानीको समय र लागत दुवै बढिरहनेछन् ।

यसैले अब ऊर्जा मन्त्रालयले पीपीए मात्र हेरेर पुग्दैन । वन मन्त्रालय, अर्थ मन्त्रालय, विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग र प्राधिकरणबीच एउटै परियोजनाको सम्पूर्ण जीवनचक्र हेर्ने संयन्त्र बनाउनुपर्ने देखिन्छ ।

सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको महत्वाकांक्षी लक्ष्य अघि सारेको छ । ऊर्जा विकास रोडम्याप र निजी क्षेत्रका अध्ययनले पनि २०३५ सम्म २८ हजार ५०० मेगावाट आसपास उत्पादनको परिकल्पना गरेका छन् । उक्त लक्ष्य पूरा गर्न करिब ४६.५ अर्ब अमेरिकी डलर बराबरको लगानी आवश्यक पर्ने इप्पानको प्रक्षेपण छ ।

तर लक्ष्य ठूलो र नीति सानो भयो भने जलविद्युत् क्षेत्र फेरि कागजी आयोजनाको थुप्रोमा परिणत हुन सक्छ ।

अहिले सरकारसँग पीपीए खोल्ने अवसर छ । तर यो अवसर केवल चार वर्षदेखि बन्द ढोका खोल्ने काममा सीमित हुनु हुँदैन । १६ हजार मेगावाटको सूचीलाई परियोजनाको वास्तविक अवस्था, प्रसारण क्षमता, बजार, वातावरणीय स्वीकृति, वित्तीय सम्भाव्यता र निर्यात सम्भावनाका आधारमा वर्गीकरण गर्नुपर्छ ।

त्यसपछि मात्रै प्राथमिकताअनुसार पीपीए, प्रसारण र बजारको योजना एकैसाथ अघि बढाउनुपर्ने हुन्छ ।

नत्र एउटा गाँठो फुकाउँदा अर्को गाँठो कसिनेछ । पीपीए भयो, तर बैंकले ऋण दिएन भने आयोजना बन्ने छैन । आयोजना बन्यो, तर प्रसारण लाइन भएन भने बिजुली बेच्न सकिने छैन । प्रसारण लाइन भयो, तर बजार भएन भने प्राधिकरणमाथि खरिद दायित्व बढ्नेछ । बजार भयो, तर वन र आरसीओडीको समस्या रहे आयोजना समयमै उत्पादनमा आउने छैन ।

यही कारण अहिलेको बहस ‘पीपीए खोल्ने कि नखोल्ने’ भन्नेमा सीमित राख्न मिल्दैन । मुख्य प्रश्न अब पीपीए खुल्छ कि खुल्दैन भन्ने होइन, पीपीएपछि आयोजना कहाँ पुग्छ भन्ने हो ।

सरकारले सात दिनमा मापदण्ड बनाउने जिम्मेवारी उपसमितिलाई दिएको छ । अब त्यो मापदण्डले जलविद्युत् क्षेत्रको अर्को चार वर्षको अन्योल हटाउँछ कि नयाँ अन्योल सिर्जना गर्छ भन्ने निर्णय नै महत्वपूर्ण हुनेछ । निजी क्षेत्रले खोजेको कुरा केवल सम्झौताको कागज होइन, लगानीको सुरक्षा, बिजुली बेच्ने बजार र आयोजनालाई निर्माणदेखि उत्पादनसम्म पुर्‍याउने स्पष्ट राज्य नीति हो ।

नेपालसँग पानी छ, आयोजना बनाउन इच्छुक निजी क्षेत्र छ र पछिल्लो समय छिमेकी बजारमा विद्युत् निर्यातको ढोका पनि विस्तार हुँदैछ । तर यी तीनवटाबीच जोड्ने नीति, प्रसारण र व्यापार प्रणाली कमजोर रह्यो भने ३० हजार मेगावाटको लक्ष्य नारामै सीमित हुनेछ ।

पीपीएको ताला खोल्नु आवश्यक छ । तर जलविद्युत् क्षेत्रलाई साँच्चिकै उठाउने हो भने पीपीएसँगै वन, प्रसारण, आरसीओडी, विद्युत् व्यापार, निर्यात अनुमति र बैंकिङ जोखिमका गाँठा पनि एकैपटक फुकाउनुपर्नेछ । नत्र अहिले पर्खिरहेका १६ हजार मेगावाटका आयोजना भोलि पनि अर्को निर्णयको प्रतीक्षामा बस्नेछन् ।

2