हिमालयमा हिउँ घट्दै गएको कुरा अब कुनै अनुमान वा भविष्यको चेतावनी मात्र रहेन।
भारतको उत्तराखण्डमा दशकौँदेखि संकलित तथ्यांकलाई एकीकृत गरेर गरिएको नयाँ वैज्ञानिक समीक्षाले हिमनदीहरूमा भइरहेको परिवर्तनको गति र स्वरूप दुवै असमान तर गम्भीर रहेको देखाएको छ।
अध्ययनमा समेटिएका २३ हिमनदीको पछाडि हट्ने दर केहीमा वर्षको केही मिटरबाट सुरु भएर खतलिङमा ८८ मिटरसम्म पुगेको छ। समग्र तथ्यांकको औसत पछाडि हट्ने दर २४.६३ मिटर प्रतिवर्ष रहेको अध्ययनले देखाएको छ।
यो अध्ययन भारतको उत्तराखण्डका हिमनदीको मात्र कथा होइन।
उत्तराखण्डका हिमनदी गंगा, यमुना, अलकनन्दा, भागीरथी र कालीजस्ता नदी प्रणालीसँग जोडिएका छन्। ती नदी प्रणालीले भारतका साथै नेपालसम्मको पानी, कृषि, जलविद्युत्, बस्ती र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छन्।
त्यसैले हिमनदीको आकार घट्नु वा अग्रभाग पछाडि सर्नु हिमालमा सीमित भौगोलिक परिवर्तन होइन, तल्लो तटीय क्षेत्रसम्म पुग्ने पानी र विपद्को जोखिमसँग जोडिएको विषय हो।
१५ सेप्टेम्बर २०२६ मा ‘डिस्कभर जियोसाइन्स’मा प्रकाशित ‘टाइम डिपेन्डेन्ट एसेसमेन्ट अफ ग्लेसियर रिसेसन इन द इन्डियन सेन्ट्रल हिमालय’ नामक समीक्षात्मक अध्ययनले उत्तराखण्डका हिमनदीमा दशकौँदेखि गरिएका क्षेत्रीय अध्ययन, उपग्रह चित्र, स्थल अवलोकन र अन्य वैज्ञानिक प्रमाणलाई एक ठाउँमा राखेको छ।
अध्ययनका लेखक ज्योति कुमारी, गिरीश चन्द्र कोठियारी, अतुलकुमार पाटीदार र वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीका वैज्ञानिक मनिष मेहता हुन्।
अध्ययनले एउटा महत्वपूर्ण तथ्य पनि देखाएको छ। सबै हिमनदी एउटै गतिमा पग्लिरहेका छैनन्।
कतिपय हिमनदीमा माटो, ढुंगा र गेग्रानको बाक्लो तहले बरफलाई केही हदसम्म जोगाइरहेको छ भने खुला र सफा बरफ भएका हिमनदी बढी तीव्र गतिमा पछाडि हटिरहेका छन्।
यसले जलवायु परिवर्तनसँगै हिमनदीको आकार, ढलान, उचाइ, भूगोल, बरफको संरचना र सतहमा रहेको गेग्रानले पनि परिवर्तनको गति निर्धारण गर्ने देखाउँछ।
२३ हिमनदीको बदलिँदो तस्वीर
अध्ययनमा समेटिएका २३ हिमनदीको तथ्यांक एउटै समयावधिको होइन। विभिन्न हिमनदीका लागि उपलब्ध पुराना अध्ययन, स्थल मापन र उपग्रह तथ्यांकलाई तुलना गरिएको हो।
त्यसैले कुनै एउटा वर्षको अवस्थालाई सबै हिमनदीमा समान रूपमा लागू गर्न मिल्दैन। तर दशकौँको अभिलेखलाई सँगै राख्दा एउटा क्षेत्रीय प्रवृत्ति भने प्रस्ट देखिन्छ, भारतीय मध्य हिमालयमा हिमनदीहरू लगातार पछाडि हटिरहेका छन् र पछिल्ला दशकमा धेरै हिमनदीको क्षय तीव्र भएको छ।
अध्ययनले समेटेको तथ्यांकअनुसार २३ हिमनदीको कुल सञ्चित पछाडि हटाइ करिब २५ हजार ६२१ मिटर रहेको छ।
पछाडि हट्ने औसत दर २४.६३ मिटर प्रतिवर्ष र मध्यक दर २१.३ मिटर प्रतिवर्ष छ। सबैभन्दा कम औसत दर भागीरथी हिमनदीमा ३.७ मिटर प्रतिवर्ष देखिएको छ भने खतलिङमा ८८ मिटर प्रतिवर्ष पुगेको छ।
खतलिङको अवस्था विशेष ध्यान दिनुपर्ने खालको छ। टिहरी गढवालमा रहेको यो हिमनदी सन् १९६५ देखि २०१४ बीच ४ हजार ३४० मिटरभन्दा बढी पछाडि हटेको अर्को विस्तृत अध्ययनले देखाएको थियो।
औसत दर ८८ मिटर प्रतिवर्ष थियो। यो परिवर्तनले पहिले ठूलो संयुक्त हिमनदीका रूपमा रहेको भागलाई विभिन्न साना हिमनदी र छुट्टाछुट्टै बरफ संरचनामा विभाजित गरेको वैज्ञानिक अध्ययनमा उल्लेख छ।
खतलिङको उदाहरणले एउटा अर्को पक्ष पनि देखाउँछ। हिमनदी पछाडि हट्दा केवल बरफको लम्बाइ घट्दैन, त्यसले हिमनदीको संरचना नै बदल्न सक्छ।
सहायक हिमनदीसँगको सम्बन्ध टुट्न सक्छ, नयाँ हिमताल बन्न सक्छ र हिमनदीको तल्लो भागमा बरफको गतिशीलता कमजोर हुन सक्छ। यस्तो परिवर्तनले भविष्यमा पानीको बहाव र हिमाली भूभागको स्थिरतामा समेत असर पार्न सक्छ।
पिथौरागढको मिलम हिमनदी पनि अध्ययनमा तीव्र परिवर्तन देखाउने हिमनदीमध्ये परेको छ। उपलब्ध विभिन्न अभिलेखअनुसार मिलम पछाडि हट्ने दर ३२ देखि ३७.८ मिटर प्रतिवर्षसम्म पुगेको छ।
यसै क्षेत्रमा भएको अर्को अध्ययनले सन् १९७२ देखि २०१८ बीच मिलमको हिउँले ढाकिएको क्षेत्रसमेत उल्लेख्य रूपमा घटेको देखाएको छ। अध्ययनमा सन् २००४ देखि २०१४ को अवधिमा मात्रै मिलमको अग्रभाग करिब ४८० मिटर पछाडि सरेको उल्लेख छ।
पिण्डारी हिमनदीको तथ्यांक झनै महत्वपूर्ण छ। सन् १८४५ देखि १९६६ सम्मको १२१ वर्षको अभिलेखमा पिण्डारी २ हजार ८४० मिटर पछाडि हटेको र औसत दर २३.४ मिटर प्रतिवर्ष रहेको थियो।
सन् २००० देखि २०१८ सम्मको १८ वर्षमा ८२५.२३ मिटर पछाडि हटेको र औसत दर ४५.८५ मिटर प्रतिवर्ष पुगेको अध्ययनमा उल्लेख छ।
दुई अवधिको तुलना गर्दा पछिल्लो समयमा परिवर्तनको गति उल्लेख्य रूपमा बढेको संकेत मिल्छ।
गंगोत्री हिमनदीको तथ्यांक पनि लामो समयको परिवर्तन बुझ्न उपयोगी छ। सन् १९३५ देखि २००४ सम्मको ६९ वर्षमा यसको औसत पछाडि हट्ने दर २२.०२ मिटर प्रतिवर्ष थियो।
पछिल्लो छोटो अवधिको अध्ययनमा पनि २१.३ मिटर प्रतिवर्षको दर देखिएको छ।
उत्तरकाशीको बन्दरपुन्च हिमनदी सन् १९६० देखि १९९९ सम्मको ३९ वर्षमा औसत २५.५१ मिटर प्रतिवर्ष पछाडि हटेको थियो।
डोक्रियानीमा २१ मिटर, भागीरथीमा ३.७ मिटर, चमोलीको सतोपन्थमा २६.४५ मिटर, टिप्रामा १४.४१ मिटर र दुनागिरीमा उपलब्ध अध्ययनअनुसार करिब ९ मिटर प्रतिवर्षको दर देखिएको छ।
उत्तर नन्दा देवी हिमनदी २२ मिटर र रमाणी ३२ मिटर प्रतिवर्षको दरले पछाडि हटेको अध्ययनमा उल्लेख छ।
यसरी हेर्दा उत्तराखण्डका हिमनदीमा परिवर्तन समान छैन, तर तीव्र गतिमा पछाडि हटिरहेका हिमनदीको संख्या र त्यससँग जोडिएको जोखिमलाई सामान्य मौसमी परिवर्तन भनेर मात्र हेर्न सकिने अवस्था छैन।
तापक्रम मात्रै होइन, हिमनदीको भूगोल पनि निर्णायक
हिमनदी पग्लनुको प्रमुख चालकका रूपमा जलवायु परिवर्तन र तापक्रम वृद्धि देखिए पनि नयाँ अध्ययनले एउटा महत्वपूर्ण जटिलता औँल्याएको छ। एउटै क्षेत्रमा रहेका हिमनदीले एउटै तापक्रम र वर्षाको सामना गरे पनि सबै समान गतिमा पछाडि हट्दैनन्।
यसको कारण हिमनदीको आफ्नै भौगोलिक र संरचनात्मक विशेषता हो।
हिमनदीको ढलान कति छ, बरफ कुन दिशातर्फ फर्किएको छ, यसको उचाइ कति छ, बरफको मोटाइ कति छ, सतहमा कति माटो तथा ढुंगा छ, अग्रभाग कस्तो आकारको छ र वरपरको भूभाग कस्तो छ भन्ने कुराले पग्लिने तथा पछाडि हट्ने गति बदल्न सक्छ।
अध्ययनले माटो र ढुंगाले ढाकिएका हिमनदीको अग्रभाग सामान्यतः केही मिटर प्रतिवर्षको दरमा पछाडि हट्ने गरेको देखाएको छ। यसको विपरीत खुला र सफा बरफ भएका हिमनदीमा परिवर्तन निकै तीव्र हुन सक्छ।
सतहमा रहेको बाक्लो गेग्रानले बरफलाई सूर्यको तापबाट केही हदसम्म जोगाउने भएकाले यस्तो हिमनदीको सतही पग्लाइ कम हुन सक्छ। तर पातलो गेग्रान वा खुला बरफ भएको भागमा ताप सोसिने मात्रा बढी हुन्छ।
यही कारण खतलिङजस्ता सफा बरफ भएका हिमनदीमा पछाडि हट्ने दर ८० मिटरभन्दा माथि पुगेको अध्ययनमा देखिन्छ। यसको अर्थ जलवायु परिवर्तनको असर सबै हिमनदीमा समान रूपमा देखिन्छ भन्ने होइन।

क्याप्सन: पग्लिँदो गंगोत्री हिमनदी र पछाडिका हिमाली चुचुरा। स्रोत: माधुसूदन थाप्लियाल / Imaggeo, EGU
स्थानीय भूगोलले त्यस असरलाई बढाउन वा केही हदसम्म घटाउन सक्छ।
भारतीय मध्य हिमालयका करिब १० हजार हिमनदीमध्ये विस्तृत रूपमा द्रव्यमान सन्तुलन अर्थात् हिमनदीले कति बरफ गुमायो र कति नयाँ बरफ प्राप्त गर्यो भन्ने अध्ययन भएका हिमनदीको संख्या निकै कम रहेको नयाँ समीक्षाले उल्लेख गरेको छ।
अग्रभागको परिवर्तन नियमित रूपमा हेर्ने हिमनदी पनि सीमित छन्। यसको अर्थ ठूलो क्षेत्र परिवर्तन भइरहेको भए पनि वैज्ञानिक अभिलेख अझै अपूर्ण छ।
यही कमजोरीले भविष्यको जोखिम आकलनलाई कठिन बनाउँछ। हिमनदीको लम्बाइ मात्रै मापन गरेर यसको सम्पूर्ण स्वास्थ्य बुझ्न सकिँदैन।
बरफको मोटाइ, द्रव्यमान सन्तुलन, सतहको उचाइ, हिमतालको विकास, बरफको गति र वरपरको चट्टानी संरचनालाई समेत नियमित रूपमा निगरानी गर्नुपर्ने आवश्यकता अध्ययनले देखाएको छ।
सन् २००० पछि बढेको दबाब
नयाँ अध्ययनको सबैभन्दा महत्वपूर्ण निष्कर्षमध्ये एक हो, पछिल्ला दशकमा हिमनदी परिवर्तनको गति बढ्दै जानु।
समीक्षाले सन् २००० पछिका अध्ययनमा हिमनदीको पछाडि हटाइसँगै सन्तुलन रेखा अर्थात् स्थायी हिउँको सीमासमेत माथि सर्दै गएको र हिमनदीको द्रव्यमान सन्तुलन थप नकारात्मक बन्दै गएको उल्लेख गरेको छ।
यो परिवर्तन तापक्रम वृद्धिसँग मात्र जोडिएको छैन। वर्षाको स्वरूपमा आएको परिवर्तन पनि महत्वपूर्ण छ।
उच्च हिमाली क्षेत्रमा पहिले हिउँका रूपमा झर्ने पानी अहिले केही अवस्थामा वर्षाका रूपमा पर्न थालेको छ। हिउँ पर्ने समय छोटिनु, हिउँदको हिमपात घट्नु र गर्मीयाम लामो हुनु हिमनदीका लागि थप दबाब हुन्।
नयाँ अध्ययनले करिब ४ हजार मिटर उचाइसम्म वर्षा हुने अवस्थालाई समेत हिमनदी परिवर्तनसँग जोडेको छ।
उच्च उचाइमा पानी हिउँको रूपमा जमेर लामो समयसम्म रहने हो भने हिमनदीलाई नयाँ बरफ आपूर्ति हुन्छ। तर त्यही पानी वर्षाका रूपमा परेमा तत्काल सतही बहाव बढ्न सक्छ र बरफको क्षयलाई पनि तीव्र बनाउन सक्छ।
हिमनदीका लागि समस्या केवल धेरै तापक्रम होइन, हिउँ पुनः जम्ने अवसर घट्नु पनि हो।
हिउँदमा पर्याप्त हिमपात नभएपछि नयाँ हिउँको तह बन्न कम हुन्छ। गर्मीमा पुरानो बरफ पग्लँदा त्यसको क्षतिपूर्ति गर्ने नयाँ हिउँ पर्याप्त नआए हिमनदीको द्रव्यमान सन्तुलन ऋणात्मक बन्छ।
आईसीआईएमओडीले मार्च २०२६ मा सार्वजनिक गरेको क्षेत्रीय विश्लेषणले हिन्दूकुश हिमालयमा सन् २००० यता हिमनदीको बरफ गुमाउने दर दोब्बर भएको देखाएको छ।
सन् १९७५ यता केही क्षेत्रमा हिमनदीको बरफको मोटाइ २७ मिटरसम्म घटेको अनुमान गरिएको छ। यो क्षेत्रमा करिब दुई अर्ब मानिस नदीको पानीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निर्भर रहेको आईसीआईएमओडीले जनाएको छ।
त्यसपछि अप्रिल २०२६ मा सार्वजनिक अर्को हिमपातसम्बन्धी प्रतिवेदनले हिन्दूकुश हिमालयमा हिउँको आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशत कम रहेको देखाएको थियो।
यो लगातार चौथो वर्ष औसतभन्दा कम हिमपात कायम भएको अवस्था थियो। हिमनदी र मौसमी हिउँ दुवैमा देखिएको परिवर्तनले पानीको उपलब्धता र समय दुवैमा दीर्घकालीन दबाब सिर्जना गर्न सक्छ।
यसको अर्थ अहिले नदीमा पानी कम भइसकेको भन्ने होइन।
हिमनदी पग्लिँदा सुरुमा केही नदीमा पानीको बहाव बढ्न पनि सक्छ। तर दीर्घकालीन रूपमा हिमनदीको बरफको भण्डार घट्दै गएपछि सुख्खा मौसममा नदीलाई दिने पानीको आधार कमजोर हुन सक्छ।
यही कारण हिमनदी परिवर्तनलाई तत्कालको बाढी र भविष्यको पानी संकट दुवैसँग जोडेर हेर्नुपर्ने हुन्छ।
जोखिम पानीमा मात्र सीमित छैन
हिमनदी पछाडि हटेपछि नयाँ भूभाग खुल्छ। बरफले ढाकेको क्षेत्रमा चट्टान, माटो र गेग्रान बाहिर आउँछन्।
कतिपय ठाउँमा पानी जम्मा भएर हिमताल बन्न सक्छ। हिमताल प्राकृतिक रूपमा स्थिर रहन सक्छ, तर बाँधजस्तो काम गरिरहेको मोरेन अर्थात् हिमनदीले थुपारेको माटो, ढुंगा र गेग्रान कमजोर भयो भने अचानक फुट्न सक्छ।
यसबाट हिमताल विस्फोटजन्य बाढीको जोखिम बढ्छ। उच्च हिमाली क्षेत्रमा यस्तो बाढी केही समयमै तल्लो उपत्यकातर्फ पुग्न सक्छ।
नदीको बहावमा अचानक ठूलो मात्रामा पानी, बरफ, ढुंगा र गेग्रान मिसिँदा पुल, सडक, जलविद्युत् आयोजना, बस्ती र कृषि क्षेत्र प्रभावित हुन सक्छन्।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले पनि हिमनदी पछाडि हट्दा नयाँ हिमताल बन्न सक्ने र तापक्रम तथा वर्षाको स्वरूपमा परिवर्तन हुँदा हिमताल विस्फोटजन्य बाढी र हिमाली भिरमा पहिरोको जोखिम बढ्न सक्ने उल्लेख गरेको छ।
२०२६ को पछिल्लो क्षेत्रीय वैज्ञानिक विश्लेषणले यो जोखिमलाई नेपालसँग जोडेर अझै गम्भीर बनाएको छ।
अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्रमा भएको चट्टान र बरफको ठूलो पतनपछि आएको विनाशकारी बाढीमा १ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको र ५ हजारभन्दा बढी अझै बेपत्ता रहेको विश्व मौसम सम्बन्धी अनुसन्धान समूहको सेप्टेम्बर १७ को विश्लेषणले जनाएको छ।
त्यो घटना सीधै “हिमनदी पग्लिएर आएको बाढी” मात्र थियो भनेर निष्कर्ष निकालिएको छैन। वैज्ञानिकहरूले यसलाई चट्टान, बरफ, हिमनदी, स्थायी रूपमा जमेको जमिन र जलवायुजन्य परिवर्तनबीचको जटिल घटनाका रूपमा व्याख्या गरेका छन्।
लामो समयको तापक्रम वृद्धिले हिमनदी पातलो बनाउनु, पर्माफ्रोस्ट अर्थात् स्थायी रूपमा जमेको जमिन पग्लनु र चट्टानभित्रको बरफ तथा पानीको अवस्थालाई बदल्नुले पहाडको स्थिरता कमजोर बनाउन सक्ने वैज्ञानिक निष्कर्ष छ।
विश्व मौसमसम्बन्धी अनुसन्धान समूहले जलवायु परिवर्तनलाई उक्त दुर्घटनाको एकमात्र कारण नभई पहिल्यै कमजोर रहेको भूगर्भीय संरचनालाई अस्थिर बनाउने कारकका रूपमा व्याख्या गरेको छ।
सन् २०१५ को ठूलो भूकम्पले पनि क्षेत्रको चट्टानी संरचनामा दीर्घकालीन असर पारेको हुन सक्ने वैज्ञानिकहरूले उल्लेख गरेका छन्।
यस घटनामा जुलाई र अगस्ट २०२६ को तापक्रम स्थानीय अभिलेखमा अत्यधिक उच्च रहेको र मानवीय गतिविधिबाट भएको जलवायु परिवर्तनका कारण ती दुई महिनाको तापक्रम करिब १.५ डिग्री सेल्सियस बढी भएको वैज्ञानिक विश्लेषणले देखाएको छ।
हिमालयमा शून्य डिग्रीको सीमासमेत पछिल्ला दशकमा माथि सर्दै गएको छ।
यसले एउटा नयाँ जोखिमतर्फ संकेत गर्छ। हिमनदी पग्लनु मात्र समस्या होइन, हिउँ र बरफले दशकौँदेखि स्थिर राखेको चट्टानी संरचना खुल्दै जानु पनि जोखिम हो।
भारतबाट नेपालसम्म जोडिएको पानीको अर्थतन्त्र
उत्तराखण्डका हिमनदीमा आएको परिवर्तनको असर भारतको हिमाली भूभागमा मात्रै सीमित हुँदैन। गंगा प्रणालीसँग जोडिएका नदीहरू भारत हुँदै नेपालसम्मको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छन्। हिमालयबाट आउने पानी कृषि, खानेपानी, उद्योग र जलविद्युत्का लागि आधारभूत स्रोत हो।
नेपाल र भारत दुवैका लागि हिमालयको पानी ऊर्जा अर्थतन्त्रको महत्वपूर्ण आधार हो। नदीको बहावको मौसमी स्वरूप बदलिँदा जलविद्युत् आयोजनाको उत्पादन योजना प्रभावित हुन सक्छ।
अहिलेको समयमा धेरै पानी आउँदा बाढी र पूर्वाधार क्षतिको जोखिम बढ्न सक्छ भने सुख्खा मौसममा पानीको बहाव घट्दा ऊर्जा उत्पादन र सिँचाइमा दबाब पर्न सक्छ।
हिमनदीको परिवर्तनलाई केवल “बरफ घट्यो” भन्ने सूचकबाट हेर्नु त्यसैले अपूर्ण हुन्छ। यसको आर्थिक मूल्य पानीको उपलब्धता, जलविद्युत् उत्पादन, कृषि उत्पादन, बाढी नियन्त्रण, पूर्वाधार सुरक्षा र विपद् व्यवस्थापनमा जोडिन्छ।
नेपालका लागि अर्को महत्त्वपूर्ण पक्ष सीमा पारको जोखिम हो। हिमनदी र हिमतालको जोखिम कुनै प्रशासनिक सीमाभित्र रोकिँदैन।
एउटै नदी प्रणालीका माथिल्लो क्षेत्रमा भएको घटना केही घण्टा वा दिनमै तल्लो क्षेत्रमा प्रभाव पार्न सक्छ। त्यसैले हिमनदी निगरानीलाई देशभित्रको वातावरणीय कार्यक्रमका रूपमा मात्र हेरेर पुग्दैन।
आईसीआईएमओडीले हिन्दूकुश हिमालयलाई एसियाको पानीको मुख्य स्रोत क्षेत्रका रूपमा व्याख्या गर्दै हिमनदी, हिउँ र पर्माफ्रोस्टमा भइरहेको परिवर्तनलाई क्षेत्रीय पानी सुरक्षा र विपद् जोखिमसँग जोडेको छ।
अगस्ट २०२६ मा उसले क्षेत्रीय हिमनदी, हिउँ र पर्माफ्रोस्टको नियमित तथा मानकीकृत निगरानीका लागि क्षेत्रीय हिममण्डल रणनीति अघि सारेको थियो।
यस्तो निगरानीमा केवल हिमनदीको फोटो खिचेर पुग्दैन।
हरेक वर्ष हिमनदीको अग्रभाग कहाँ छ, बरफको मोटाइ कति घट्यो, हिमतालको आकार कति बढ्यो, पानीको बहाव कस्तो छ, चट्टानी ढलान कति अस्थिर छ र कुन क्षेत्रमा नयाँ जोखिम पैदा भइरहेको छ भन्ने तथ्यांक चाहिन्छ।
उपग्रह प्रविधिले यो कामलाई केही सहज बनाएको छ। नयाँ अध्ययनले पनि उपग्रह चित्र, डिजिटल उचाइ नमुना, क्षेत्रीय मापन र पुराना अभिलेखलाई एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
उच्च गुणस्तरका दृश्य तथा राडार उपग्रह तथ्यांक प्रयोग गर्दा दुर्गम हिमाली क्षेत्रमा पुग्न कठिन हुने अवस्थामा पनि परिवर्तनको नियमित निगरानी गर्न सकिन्छ।
तर प्रविधि मात्रै पर्याप्त हुँदैन। उपग्रहबाट देखिएको परिवर्तनलाई स्थलमै गएर प्रमाणित गर्नुपर्ने हुन्छ। हिमनदीको वास्तविक मोटाइ, बरफको तापक्रम, पानीको प्रवाह, चट्टानको स्थिरता र हिमतालको बाँध संरचनाबारे स्थलगत तथ्यांक पनि आवश्यक हुन्छ।
अब प्रश्न जोखिमको होइन, तयारीको
उत्तराखण्डका २३ हिमनदीबारे नयाँ अध्ययनले सबैभन्दा ठूलो सन्देश दिएको विषय हिमनदीको पछाडि हटाइ मात्र होइन, परिवर्तनको गति र त्यसको असमान स्वरूप हो।
खतलिङजस्तो हिमनदी ८८ मिटर प्रतिवर्षको दरमा पछाडि हट्नु र भागीरथीजस्तो हिमनदीमा दर केही मिटर हुनु एउटै क्षेत्रमा जोखिमको स्वरूप कति फरक हुन सक्छ भन्ने उदाहरण हो।
अध्ययनले उपलब्ध प्रमाणलाई जोड्दा भारतीय मध्य हिमालयमा हिमनदी पछाडि हट्ने दर करिब ३.७ देखि ८८ मिटर प्रतिवर्षसम्म फैलिएको देखाउँछ। अधिकांश हिमनदी १० देखि ३५ मिटर प्रतिवर्षको दायरामा रहेका छन्।
औसत दर २३.२३ मिटर प्रतिवर्ष भनेर अध्ययनको एउटा संकलित तथ्यांक सेटले देखाएको छ भने अध्ययनको २३ हिमनदीसम्बन्धी समग्र गणनामा २४.६३ मिटर प्रतिवर्षको अंक आएको छ।
फरक संख्या विभिन्न संकलित मापन सेट र गणना विधिसँग सम्बन्धित भएकाले यसलाई एउटै प्रत्यक्ष मापनका रूपमा बुझ्नु हुँदैन।
यसले अर्को सावधानी पनि सिकाउँछ। हिमनदीको “पग्लिने दर” र “अग्रभाग पछाडि हट्ने दर” एउटै कुरा होइनन्। हिमनदीको अग्रभाग ३० मिटर पछाडि हट्यो भन्दैमा त्यस हिमनदीको सम्पूर्ण बरफ ३० मिटर पग्लियो भन्ने अर्थ हुँदैन।
हिमनदीको द्रव्यमान ह्रास, बरफको मोटाइ घट्नु, सतहको उचाइ परिवर्तन र अग्रभागको पछाडि हटाइ अलग-अलग वैज्ञानिक सूचक हुन्।
तर यी सूचकहरूलाई लामो समयसम्म सँगै हेर्दा हिमालयको परिवर्तनको गहिराइ बुझ्न सकिन्छ। पछिल्ला अध्ययनहरूले सन् २००० पछि हिमनदीको पातलिने दर पनि बढेको देखाएका छन्।
उत्तराखण्डका २३ हिमनदीमा गरिएको अर्को अनुसन्धानले सन् २००० देखि २०१५ बीच औसत पातलिने दर ०.०७ मिटर प्रतिवर्ष रहेकामा २०१५ देखि २०२० बीच ०.३१ मिटर प्रतिवर्ष पुगेको देखाएको थियो। यो दर पनि सबै हिमनदीमा समान छैन।
अब चुनौती भनेको तथ्यांकलाई विपद् व्यवस्थापनसँग जोड्नु हो।
कुन हिमनदीको तल बस्ती छ, कुन हिमतालको बाँध कमजोर छ, कुन नदीमा जलविद्युत् आयोजना छन्, कुन सडक वा पुल जोखिममा छन् र कुन क्षेत्रमा समयमै चेतावनी पुर्याउन सकिन्छ भन्ने आधारमा जोखिम नक्सा तयार गर्नुपर्ने हुन्छ।
नेपालजस्ता हिमाली मुलुकका लागि यो विषय अझ संवेदनशील छ।
जलवायु परिवर्तनको मुख्य कारणमा योगदान कम भए पनि हिमाली जोखिमको प्रत्यक्ष प्रभाव भोग्ने देशमध्ये नेपाल पर्छ। पछिल्लो हिमनदी-चट्टान पतन र बाढीको घटनाले पनि हिमाली जोखिमलाई केवल मौसम पूर्वानुमानबाट समेट्न नसकिने देखाएको छ।
भविष्यको जोखिम व्यवस्थापनमा मौसम पूर्वानुमानसँगै हिमनदीको स्वास्थ्य, पर्माफ्रोस्ट, हिमताल, चट्टानी ढलान र नदीको बहावलाई एउटै प्रणालीमा जोड्नुपर्ने देखिन्छ।
हिमताल फुटेपछि सूचना दिने प्रणालीभन्दा हिमताल फुट्ने सम्भावना बढ्दै गएको अवस्था पहिल्यै पहिचान गर्ने प्रणाली बढी महत्वपूर्ण हुन्छ।
त्यसका लागि भारत, नेपाल, चीन र हिमालयसँग जोडिएका अन्य मुलुकबीच तथ्यांक आदानप्रदान, साझा निगरानी, उपग्रह सूचना, जोखिम नक्सांकन र आपत्कालीन सञ्चार प्रणाली आवश्यक हुन्छ।
नदी सीमाले बाँडिए पनि हिमनदी र पहाडको जोखिमले सीमा मान्दैन।
उत्तराखण्डको नयाँ अध्ययनले हिमालयको बरफमा भइरहेको परिवर्तनलाई अंकमा देखाएको छ।
खतलिङको ८८ मिटर, मिलमको ३७.८ मिटर, पिण्डारीको पछिल्लो अध्ययनमा ४५.८५ मिटर र गंगोत्रीको दुई दशकभन्दा लामो अभिलेखमा देखिएको २२ मिटरभन्दा बढीको पछाडि हटाइ अलग-अलग हिमनदीका तथ्यांक हुन्। तर यी सबै तथ्यांक जोड्दा देखिने तस्वीर एउटै छ, हिमालय स्थिर छैन।
हिमनदी पछाडि हट्दैछन्, हिउँको आवरण घट्दैछ, उच्च क्षेत्रमा वर्षा र हिमपातको अनुपात बदलिँदैछ र पर्माफ्रोस्ट कमजोर हुँदैछ।
त्यसको असर एकातर्फ पानीको दीर्घकालीन उपलब्धतामा पर्न सक्छ भने अर्कोतर्फ तत्कालीन बाढी, हिमताल विस्फोट, हिमपहिरो, चट्टान पतन र गेग्रान बहावको जोखिम बढाउन सक्छ।
अब हिमनदीलाई केवल हिमालको सेतो दृश्यका रूपमा हेर्ने समय सकिएको छ। ती हिमनदी दक्षिण एसियाको पानीको भण्डार, ऊर्जा उत्पादनको आधार, कृषि अर्थतन्त्रको सहारा र करोडौँ मानिसको जोखिमसँग जोडिएको प्राकृतिक पूर्वाधार हुन्।
यो पूर्वाधार कमजोर हुँदै जाँदा त्यसको आर्थिक लागत पनि बढ्दै जानेछ।
नयाँ वैज्ञानिक समीक्षाले उत्तराखण्डका २३ हिमनदीको तथ्यांकमार्फत देखाएको चेतावनी यही हो। तापक्रमको दबाब जारी रहे हिमनदीको परिवर्तन पनि जारी रहनेछ।
त्यसैले अब बहस हिमनदी पग्लन्छ कि पग्लँदैन भन्नेमा होइन, कुन हिमनदी कति तीव्र गतिमा बदलिँदैछ, त्यसबाट कुन क्षेत्र कति जोखिममा छ र जोखिम आउनुअघि राज्यसँग त्यसलाई पहिचान गर्ने पर्याप्त तथ्यांक तथा तयारी छ कि छैन भन्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ।
