काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको ७ वर्ष अवधिको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’ को साँवा तथा ब्याज भुक्तानी गर्ने भएको छ।
बैंकका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य रहेको उक्त डिबेन्चरको अवधि भदौ ८ गते सकिँदैछ। डिबेन्चरधनीलाई साँवा तथा बाँकी अवधिको अन्तिम किस्ता ब्याज भदौ ९ गतेदेखि भुक्तानी गरिने बैंकले जनाएको छ।
साँवा तथा ब्याजको भुक्तानी हिमालयन क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमार्फत गरिनेछ। डिबेन्चरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आईपीएसमार्फत रकम जम्मा गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंक खाता तथा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक नभएका डिबेन्चरधनीलाई आवश्यक विवरण अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ।
यसअघि बैंक खाता अद्यावधिक नभएका कारण ब्याज रकम प्राप्त गर्न नसकेका डिबेन्चरधनीले समेत हिमालयन क्यापिटलमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
बैंकले डिबेन्चरको साँवा तथा ब्याज भुक्तानीसम्बन्धी थप जानकारी र आवश्यक प्रक्रिया पूरा गर्न हिमालयन क्यापिटलमा सम्पर्क गर्न डिबेन्चरधनीलाई आग्रह गरेको छ।
