काठमाडौं। मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनी मात्र छनोट गरेपछि सिन्डिकेटको आरोपमा विवाद चर्किएको छ। मलेसियाले नेपालसँग परामर्श वा सहमति नगरी एफडब्लुसिएमएस प्रणालीमार्फत सीमित कम्पनी सूचीकृत गरेको भन्दै नेपाली व्यवसायी र सरकारले विरोध जनाएका छन्।
मलेसियाको मानव संशाधन मन्त्रालयले सूचीकृत कम्पनीबाहेक अन्य म्यानपावरमार्फत नेपाली श्रमिक नलैजाने जनाएको छ। नेपालबाट छनोट भएका कम्पनीमा फ्रन्टलाइन रिक्रुटमेन्ट, लाल धनुष इन्टरनेसनल सर्भिस, नेपाल प्लेसमेन्ट एजेन्सी, द रिभर ओभरसिज, एसिया लिंक सर्भिसेज, मोन्टाज ओभरसिज र नेपाल एचआर सोलुसनसहित २५ कम्पनी छन्।
श्रम मन्त्रालयले मलेसियाली कार्यवाहक राजदूतसँग छलफल गर्दै श्रम आप्रवासनसम्बन्धी निर्णय द्विपक्षीय परामर्श र सहमतिबाट मात्र अघि बढाउन आग्रह गरेको छ। मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई हालकै व्यवस्था कायम राख्न पत्राचारसमेत गरेको जनाएको छ।
वैदेशिक रोजगार व्यवसायी संघले भने मलेसियाको निर्णयलाई सिन्डिकेट भन्दै विरोध गरेको छ। संघले छनोट भएका २५ कम्पनीलाई सदस्यताबाट निलम्बन गरी तीन दिनभित्र स्पष्टीकरण मागेको छ।
संघले आइतबार एसिया लिंक सर्भिसेज र ट्रस्ट नेपाल ओभरसिजमा तालासमेत लगाएको छ। मलेसियाको सीमित कम्पनी छनोटमा सहयोग गरेको आरोपमा सांकेतिक कारबाहीस्वरूप ताला लगाइएको संघका अध्यक्ष डिकबहादुर खत्रीले बताएका छन्।
नेपालमा करिब १,२०० वैदेशिक रोजगार व्यवसायी संस्था सञ्चालनमा रहेकाले सबैलाई समान अवसर र प्रतिस्पर्धाको अधिकार हुनुपर्ने संघको भनाइ छ। श्रम मन्त्रालयले सोमबार संघको रोहबरमा छनोट भएका २५ म्यानपावरसँग छलफल गर्ने तयारी गरेको छ।
