काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालमा चारपांग्रे सवारीको आयातमा विद्युतीय गाडीको वर्चस्व देखिएको छ।
साउनमा आयात भएका ९८७ वटा चारपांग्रे यात्रुवाहक सवारीमध्ये ६८९ वटा अर्थात् करिब ७० प्रतिशत पूर्ण विद्युतीय छन्।
भन्सार विभागका अनुसार साउनमा ६८९ वटा विद्युतीय गाडी आयात गर्दा १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ।
सरकारले विद्युतीय गाडीबाट १० करोड ६२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। आयातित विद्युतीय गाडीको औसत मूल्य करिब २३ लाख ४४ हजार रुपैयाँ रहेको छ।
यस अवधिमा पेट्रोल र डिजेलबाट चल्ने २७५ वटा गाडी आयात भएका छन्। तीमध्ये २१९ वटा पेट्रोल र ५६ वटा डिजेल गाडी छन्। यी गाडीको आयातमा ४४ करोड ८६ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ भने सरकारले करिब १० करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यस्तै, साउनमा २३ वटा प्लग–इन हाइब्रिड गाडी पनि नेपाल भित्रिएका छन्। तीमध्ये १७ वटा २ हजार घन सेन्टिमिटरभन्दा माथिका र ६ वटा २ हजार घन सेन्टिमिटरसम्मका छन्। हाइब्रिड गाडी आयातमा १२ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ भने सरकारले २ करोड ९१ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको छ।
कुल चारपांग्रे सवारी आयातमा विद्युतीय गाडीको हिस्सा करिब ७० प्रतिशत पुगेको छ। पेट्रोल र डिजेल गाडीको हिस्सा करिब २८ प्रतिशतमा सीमित हुँदा बाँकी हिस्सा प्लग–इन हाइब्रिड गाडीले ओगटेका छन्।
तर राजस्व संकलनमा भने विद्युतीय र पेट्रोल–डिजेल गाडीबीच ठूलो अन्तर देखिँदैन। विद्युतीय गाडीको संख्या दुई गुणाभन्दा बढी भए पनि त्यसबाट १० करोड ६२ लाख रुपैयाँ राजस्व उठ्दा पेट्रोल–डिजेल गाडीबाट १० करोड ९७ लाख रुपैयाँ संकलन भएको छ।
साउनको तथ्यांकले नेपाली चारपांग्रे सवारी बजार विद्युतीय प्रविधितर्फ तीव्र रूपमा रूपान्तरण भइरहेको देखाएको छ। विद्युतीय गाडीको आयातमा देखिएको निरन्तर वृद्धि आगामी महिनामा पनि कायम रहे नेपाली अटो बजारमा यसको हिस्सा अझ बढ्ने संकेत देखिएको छ।
