काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि नेपाल भित्रिने रेमिट्यान्समा भने उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले बढेर २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाहसमेत २८.१ प्रतिशतले बढेर १६ अर्ब १९ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष डलरमा रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले बढेको थियो।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
रेमिट्यान्ससँगै मुलुकमा भित्रिने खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा खुद द्वितीय आय २५ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ थियो।
तर, रेमिट्यान्सको वृद्धिको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको छ। समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६ हजार ५१९ रहेको छ।
त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८५ हजार ७८३ रहेको छ। नयाँ र पुनः श्रम स्वीकृति गरी समीक्षा वर्षमा वैदेशिक रोजगारीमा जाने कुल नेपालीको संख्या ७ लाख ९२ हजार ३०२ रहेको राष्ट्र बैंकको तथ्यांक छ।
यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ हजार ९६४ ले कम हो। अघिल्लो वर्ष नयाँ श्रम स्वीकृति लिनेको संख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ गरी कुल ८ लाख ३९ हजार २६६ नेपाली वैदेशिक रोजगारीमा गएका थिए।
यसरी वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा पनि रेमिट्यान्समा तीव्र वृद्धि हुनुले विदेशमा रहेका नेपालीको आम्दानी, औपचारिक माध्यमबाट रकम पठाउने प्रवृत्ति तथा डलरको विनिमय दरलगायतका पक्षले रेमिट्यान्स वृद्धिमा भूमिका खेलेको देखिन्छ।
