काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालका प्रमुख २० निर्यात वस्तुको निकासी बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मूल्यका आधारमा सबै प्रमुख २० वस्तुको निर्यात बढेको हो।
सबैभन्दा ठूलो वृद्धि फलाम, स्टिल तथा तिनका उत्पादनको निर्यातमा भएको छ। गत वर्षको साउनमा ३५ करोड ५९ लाख रुपैयाँको यस्तो वस्तु निर्यात भएकामा चालु वर्षको साउनमा २ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यो ४७२.५९ प्रतिशत वृद्धि हो।
यस्तै, कुकुर तथा बिरालोको खाना (छुर्पी) को निर्यात १८८.०२ प्रतिशतले बढेर ५३ करोड १२ लाख रुपैयाँ पुगेको छ। पाम आयलको निर्यात १३०.४७ प्रतिशत, प्लाइउडको १२३.२४ प्रतिशत र अलैंचीको १०९.८५ प्रतिशतले बढेको छ। जुट तथा जुटका उत्पादन, आल्मुनियम तथा त्यसका उत्पादन र सूर्यमुखी तेलको निर्यात क्रमशः ९६.८८ प्रतिशत, ९३.७१ प्रतिशत र ८५.८५ प्रतिशतले बढेको छ।
तर मूल्यमा भएको वृद्धि सबै वस्तुको वास्तविक परिमाण वृद्धिसँग मेल खाँदैन। उदाहरणका लागि, ऊनी गलैंचाको निर्यात मूल्य ३.४६ प्रतिशतले बढेर ८४ करोड ८९ लाख रुपैयाँ पुगे पनि निर्यात परिमाण २६ हजार ९४९ वर्गमिटरबाट घटेर २५ हजार २५ वर्गमिटरमा झरेको छ। मूल्य वृद्धिका कारण मात्र यसको कुल निर्यात मूल्य बढेको हो।
प्रमुख २० निर्यात वस्तुमध्ये सोयाबिन तेलको हिस्सा सबैभन्दा ठूलो छ। साउनमा १७ अर्ब ९९ करोड ३५ लाख रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ, जुन कुल वस्तु निर्यातको ४६.४९ प्रतिशत हो। त्यसपछि फलाम तथा स्टिलका उत्पादनको ५.२७ प्रतिशत, यार्नको ४.३७ प्रतिशत, पाम आयलको ४.२५ प्रतिशत र जुट तथा जुटका उत्पादनको ३.१७ प्रतिशत हिस्सा छ।
साउनमा प्रमुख २० वस्तुबाट मात्रै करिब ३३ अर्ब ९५ करोड रुपैयाँको निर्यात भएको छ। कुल ३८ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यातमा यसको हिस्सा करिब ८८ प्रतिशत हो। गत आर्थिक वर्षको साउनमा २३ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएकामा चालु वर्षको साउनमा कुल निर्यात ६१.७४ प्रतिशतले बढेको विभागको तथ्यांक छ।
तर निर्यात वृद्धिको संरचनाले नेपालको बाह्य व्यापारमा पुरानै निर्भरता देखाएको छ। विशेषगरी सोयाबिन, पाम र सूर्यमुखी तेलको निर्यातले ठूलो हिस्सा ओगटेको छ।
वैदेशिक व्यापार विज्ञ रविशंकर सैंजुले निर्यात बढ्नु सकारात्मक भए पनि त्यसको संरचनालाई छुट्टै विश्लेषण गर्नुपर्ने बताए। उनका अनुसार वनस्पति तेलको निर्यातलाई मात्र आधार बनाएर निर्यात वृद्धि मूल्यांकन गर्दा नेपालको वास्तविक लाभ देखिँदैन।
“हामी निर्यातको तथ्यांक मात्रै हेरेर खुसी हुन्छौँ, तर त्यसका लागि भएको आयातलाई कहिल्यै विश्लेषण गर्दैनौँ,” सैंजुले भने, “प्रत्येक वस्तुको आयात र निर्यात दुवैलाई हेरेर वास्तविक व्यापार घाटा तथा नेपालमा भएको मूल्य अभिवृद्धिको अवस्था विश्लेषण गर्नुपर्छ।”
उनका अनुसार कच्चा सोयाबिन तेलको आयात, प्रशोधनपछि भएको निर्यात र त्यसबाट नेपालमा सिर्जना भएको वास्तविक मूल्य अभिवृद्धि छुट्ट्याएर हेर्न सके मात्रै निर्यात वृद्धिले अर्थतन्त्रलाई दिएको वास्तविक योगदान स्पष्ट हुनेछ।
