काठमाडौं । एभरेष्ट बैंकले आगामी असोज १४ गते ३२औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा हुने साधारणसभामा प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ।
बैंकले ५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत पारित गर्नेछ। यस्तै, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरण पनि पारित गर्ने एजेण्डा रहेको छ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।
