ताप्लेजुङ। ताप्लेजुङको हिमाली बस्ती घुन्सा र फलेमा इटालीबाट ल्याइएको स्याउ खेती सफल भएको छ। समुद्र सतहबाट तीन हजार ४७५ मिटर उचाइको घुन्सा र तीन हजार २३२ मिटर उचाइको फलेमा परीक्षणका लागि रोपिएको स्याउ बिरुवा चार वर्षपछि लटरम्म फल्न थालेको हो।
स्थानीयका अनुसार फुजी र गोल्डेन डेलिसियस जातका स्याउका बिरुवा रोपेको एक वर्षपछि नै फल्न सुरु गरेको थियो। फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपका स्थानीय तथा गाउँ कार्यपालिका सदस्य तेन्जिङ सेराप शेर्पाले परीक्षणका लागि ल्याइएका बिरुवा राम्ररी सप्रिएको बताए। हिउँदमा बाक्लो हिउँ पर्ने यी क्षेत्रमा स्याउको उत्पादन राम्रो देखिएपछि स्थानीय उत्साहित भएका छन्।
कञ्चनजङ्घा पदमार्गमा पर्ने घुन्सा र फलेमा उत्पादित स्याउ अहिले पर्यटकलाई चखाउने र कोसेलीका रूपमा दिने गरिएको छ। स्थानीय मिङ्मा शेर्पाले स्याउ रसिलो र स्वादिलो भएकाले पर्यटकहरू यसको स्वादमा लोभिने गरेको बताउनुभयो। खेतीको सफलतासँगै स्थानीयले यसलाई आम्दानीको स्रोत बनाउन खेती विस्तार गर्ने योजना बनाएका छन्।
यद्यपि, टाढाबाट बिरुवा खरिद गरी हिमाली भेगसम्म पुर्याउन निकै खर्चिलो हुने भएकाले स्थानीय सरकार वा अन्य निकायको सहयोग आवश्यक रहेको स्थानीयको भनाइ छ। खेती विस्तारका लागि स्थानीय बासिन्दाले गाउँपालिकाका पदाधिकारीसँग समन्वय गरिरहेका छन्।
