काठमाडौँ। यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितका लागि ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेका छन्।
कम्पनीले बाढीबाट भएको क्षति न्यूनीकरण तथा प्रभावितको पुनर्स्थापनाका लागि सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो। उक्त रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
यसैगरी, कम्पनीले रसुवा, नुवाकोट र धादिङलगायत अतिप्रभावित क्षेत्रका बाढीपीडितका लागि ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ राहत सामग्रीका रूपमा वितरण गरेको जनाएको छ। कम्पनीले प्रभावित जनता र सम्बन्धित निकायमार्फत उक्त राहत सामग्री वितरण गरिएको जानकारी दिएको छ।
विपत्को यस घडीमा आवश्यक परेमा थप सहयोग गर्न आफूहरू तत्पर रहेको यशोदा ग्रुप इन्डस्ट्रिज प्रालिले जनाएको छ।
