काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडकखण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र बनाएको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार भदौको अन्तिमसम्ममा काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको हो।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलले निर्माणस्थलमा फ्लडलाइट जडान गरेपछि दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको छ। नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि पनि काम भइरहेको छ। साथै, राजमार्गका अन्य ५ स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने प्रयास पनि जारी छ।
भदौ १० गतेको बाढीले सडक कमजोर बनेको थियो भने भदौ १४ गते भोटेकोशीको बाढीले सडक थप भासिएको थियो। त्यसपछि स्थलगत निरीक्षण र सरकारी तहमा भएको छलफलका आधारमा सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकले चार दिन अध्ययन गरी पहाड काटेर नयाँ ट्रयाक बनाउने विकल्प सुझाएका थिए।
