बागलुङ। आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब २९ करोड ५३ लाख ३७ हजार रुपियाँ राजस्व संकलन गरेको छ।
यो संकलन निर्धारित वार्षिक लक्ष्यको ७०.४५ प्रतिशत हो। कार्यालयले सो अवधिका लागि एक अर्ब ८३ करोड ८७ लाख ४५ हजार रुपियाँ राजस्व उठाउने लक्ष्य राखेको थियो।
कार्यालय प्रमुख कपिल शिलवालका अनुसार आयकरतर्फ ७५ करोड ७० लाख २४ हजार रुपियाँ सङ्कलन भएको छ, जुन लक्ष्यको ७२.४१ प्रतिशत हो। त्यस्तै, बहाल करबापत दुई करोड चार लाख ५१ हजार रुपियाँ अर्थात् लक्ष्यको ८१.६५ प्रतिशत राजस्व सङ्कलन भएको छ।
अन्तःशुल्क शीर्षकमा ६ करोड नौ लाख १९ हजार रुपियाँ सङ्कलन भएको छ, जुन लक्ष्यको ९६ प्रतिशत हो। ब्याज करमार्फत लक्ष्यको ४५.६२ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको ६८.६७ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
राजस्व सङ्कलनमा कमी आउनुका कारणबारे बोल्दै प्रमुख शिलवालले घट्दो ब्याजदर, बढ्दो अनलाइन कारोबार र मूल्य अभिवृद्धि करमा ३० प्रतिशत करको प्रावधान हट्नुलाई मुख्य कारण मानेका छन्।
साथै, ठेक्कापट्टाको कम भुक्तानी र ५० करोड रुपियाँभन्दा बढी कारोबार गर्ने उद्योग तथा संस्थाहरूको राजस्व उपल्लो तहको कर कार्यालयमा जम्मा हुने प्रावधानले पनि संकलनमा असर पारेको छ।
बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ कार्यक्षेत्र रहेको यस कार्यालयले पछिल्लो समय कर साक्षरता कार्यक्रमलाई तीव्रता दिएको छ।
तुलनात्मक रूपमा, आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले एक अर्ब सात करोड ६६ लाख रुपियाँ राजस्व संकलन गरेको थियो, जुन त्यस वर्षको लक्ष्यको ८८ प्रतिशत थियो।
