काठमाडौं। बाजुरामा पछिल्लो समय कोदो उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। विगतमा कोदो खेतीलाई उपेक्षा गरेका किसानहरू अहिले पुनः यसतर्फ आकर्षित भएका छन्।
जिल्लाका नौवटै स्थानीय तहले किसानलाई कोदो खेतीका लागि प्रोत्साहन गरेपछि उत्पादन बढेको हो।
कृषि ज्ञान केन्द्र, बाजुराका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पाँच हजार ३६० मेट्रिक टन कोदो उत्पादन भएकोमा आर्थिक वर्ष २०८२/८३ मा उत्पादन बढेर छ हजार २०० मेट्रिक टन पुगेको छ। जिल्लाको कुल २२ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये पाँच हजार २६० हेक्टरमा कोदो खेती गरिँदै आएको छ।
बुढीगङ्गा नगरपालिकाका वरिष्ठ कृषक भोलाराम जोशीका अनुसार कोदोको माग बढेसँगै किसानले राम्रो मूल्य पाउन थालेका छन्। जोशीले भने, “पहिला यहाँ कोदोको खासै मान्यता थिएन।
अहिले यहाँको कोदो देशका विभिन्न बजारमा पुग्न थालेपछि किसान पनि कोदो खेती गर्न थालेका छन्।” उनले पहिले प्रतिकिलो ३० रुपैयाँमा खरिद गरेको कोदो अहिले गाउँमै ५० रुपैयाँमा बिक्री हुने गरेको बताए।
कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम र आइरनजस्ता पोषक तत्त्व पाइने भएकाले यसलाई स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ।
जिल्लाका केही स्थानीय तहले विद्यालयमा बालबालिकालाई खुवाइने दिवा खाजामा कोदोका परिकारलाई अनिवार्य गरेका छन्। साथै, ठूला होटलमा आउने पाहुनाहरूले पनि दालभातभन्दा कोदोको रोटी र ढिँडो बढी रुचाउन थालेका छन्।
कोदो खेती गर्न सिँचाइको खासै आवश्यकता नपर्ने र भिरालो पाखो जमिनमा पनि राम्रो उत्पादन हुने भएकाले किसानहरूका लागि यो सहज बाली बनेको छ।
हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, खप्तडछेडेदह र त्रिवेणीलगायतका स्थानीय तहमा कोदोको उत्पादन राम्रो रहेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख हरिश विष्टले विगतको तुलनामा जिल्लामा कोदो उत्पादन बढेको पुष्टि गरेका छन्।
