काठमाडौं। इरान र फारसको खाडीका देशहरूबीच होर्मुज जलमार्गको प्रस्तावमा छलफल गर्न तय गरिएको उच्चस्तरीय बैठक स्थगित भएको छ। ओमानका विदेशमन्त्री सइद बद्र अल्बुसादीले आइतबार राति सामाजिक सञ्जालमार्फत सोमबारका लागि निर्धारित उक्त क्षेत्रीय बैठक स्थगित भएको जानकारी दिएका हुन्।
इरानको फार्स समाचार एजेन्सीका अनुसार केही क्षेत्रीय राष्ट्रहरूको आग्रहमा तेहरान र मस्कटको संयुक्त निर्णयबमोजिम बैठक पछि सारिएको हो। इरानले ओमानसँग समन्वय गरी बैठकको नयाँ मिति पछि तय गरिने जनाएको छ।
बैठक स्थगित हुनुअघि साउदी अरेबियाले शुक्रबार भएको ड्रोन आक्रमणपछि आफ्नो १,२०० किलोमिटर लामो पूर्व-पश्चिम पाइपलाइन सञ्चालन बन्द गरेको छ। उक्त पाइपलाइन होर्मुज जलमार्गलाई छलेर मध्यपूर्वको तेल निकासी गर्ने मुख्य मार्ग मानिन्छ। यस घटनासँगै सोमबार बजार खुल्दा तेलको मूल्यमा भारी वृद्धि भएको छ।
व्यापारी र खरीदारहरूका अनुसार साउदी अरेबियाले लाल सागरस्थित यान्बु बन्दरगाहको भण्डारबाट बन्द पाइपलाइनको तेल निकासी बढीमा ५ देखि ७ दिनसम्म मात्र धान्न सक्नेछ। यदि पाइपलाइनको मर्मत कार्य छिटो हुन नसकेमा विश्वको ४ प्रतिशतसम्म तेल आपूर्ति जोखिममा पर्न सक्ने देखिएको छ। होर्मुज जलमार्गमा पहिले नै अवरोधका कारण लाखौँ ब्यारेल तेलको आपूर्ति प्रभावित भइसकेको अवस्थामा यो नयाँ समस्याले बजारमा थप चिन्ता बढाएको छ।
