काठमाडौं। पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाट र लेकवेशी नगरपालिकाको दशरथपुर जोड्ने भेरी नदीमाथिको आरसिसी आर्क पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भेरीगंगा उपत्यकालाई नमुना आधुनिक सहरको रूपमा विकास गर्ने योजनाअन्तर्गत निर्माण गरिएको यो पुलले नदी वारिपारिका बस्तीहरूलाई जोड्नेछ।
लेकवेशीका नगर प्रमुख उमेशकुमार पौडेलका अनुसार यो पुल सञ्चालनमा आएसँगै नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई निकै सहज हुनेछ। पहिले जहरे हुँदै छिन्चु पुग्नुपर्ने बाध्यता हटेको छ। यसले पश्चिम नेपालकै ठुलो कृषि अनुसन्धान केन्द्रमा पहुँच पुर्याउन पनि मद्दत गर्नेछ।
सडक डिभिजन कार्यालयका इन्जिनियर बर्खबहादुर कठायतका अनुसार १५४ मिटर लामो र दुई स्पानको यो पुलमा हाल रंगरोगन, फिनिसिङ र दुवैतर्फको कालोपत्रे गर्ने काम बाँकी छ। हाल आकस्मिक रूपमा सवारी साधनहरू आवतजावत गरिरहेका छन्। बाँकी काम अर्को महिनाभित्र सम्पन्न हुनेछ।
अनक कन्स्ट्रक्सन प्रालिले ३२ करोड ६३ लाख १५ हजार पाँच सय रुपैयाँमा यो पुल निर्माणको ठेक्का पाएको थियो। ‘डिजाइन एन्ड बिल्ड’ मोडलमा निर्माण गरिएको यो आयोजनाको ठेक्का २०७९ माघ २२ गते स्वीकृत भएको थियो। तोकिएको समय सीमाभन्दा अगावै निर्माण सम्पन्न भएको हो।
यसअघि २०७३ माघ १० गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले पुलको शिलान्यास गरेका थिए। तर, सडक विभागले तयार पारेको सुरुवाती डिजाइन नमिल्दा र डिजाइन रिभ्युमा तीन वर्ष समय खर्चिंदा आयोजना ढिलो भएको थियो। सोही कारण पुरानो सम्झौता रद्द गरी नयाँ प्रक्रियाबाट काम अगाडि बढाइएको थियो।
यसैबीच, प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्काले सोमबार पुलको अनुगमन गरेका छन्। सो क्रममा उनले सडक फराकिलो पार्दा स्थानीयका घर जोखिममा नपर्ने गरी आवश्यक सुरक्षा पर्खाल निर्माण गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका छन्।
