काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १० खर्ब २७ अर्ब ६६ करोड ९७ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । गत वर्ष सो अवधिमा नौ खर्ब ३९ अर्ब ४८ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । आव सकिन एक महिना बाँकी रहँदा सरकारले गरेको आम्दानीको लक्ष्य गत वर्षको सो अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
चालु आवको जेठसम्मको राजस्व सङ्कलन लक्ष्य १२ खर्ब ३४ अर्ब ८५ करोड रुपियाँ थियो । अर्थ मन्त्रालयका अनुसार अहिले सङ्कलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालु आवको जेठमा मात्र ९४ अर्ब दुई करोड ८३ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । गत वर्षको जेठमा ८५ अर्ब २१ करोड १३ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब रुपियाँ ३० करोड ३० लाख राजस्व असुलीको लक्ष्य राखेको छ ।
महालेखा नियन्त्रणको कार्यालयको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म पुँजीगत खर्च लक्ष्यको ४०.७ प्रतिशत भएको छ । सरकारले चालु आवमा पुँजीगत खर्च गर्ने लक्ष्य तीन खर्ब ५२ अर्ब रुपियाँ लिएकोमा हालसम्म एक खर्ब ४३ अर्ब ३९ करोड खर्च भएको छ ।
यस्तै चालुतर्फ लक्ष्य अनुसार ७४.६८ प्रतिशत खर्च गरेको छ । चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड खर्च गर्ने लक्ष्य लिएकोमा आठ खर्ब ५१ अर्ब ५८ करोड रुपियाँ खर्च भएको छ ।
यस्तै वित्तीयतर्फ ७८.४१ प्रतिशत खर्च भएको छ । चालु आवमा तीन खर्ब ६७ अर्ब २८ करोड खर्च गर्ने लक्ष्य रहेकोमा हालसम्म दुई खर्ब ८७ अर्ब ९७ करोड रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।