काठमाडौं। काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। ग्यास पाउन उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य छन्। यो समस्या अहिलेको मात्र नभई गत पुस-माघ महिनादेखि नै सुरु भएको हो।
इजरायल-अमेरिका र इरान द्वन्द्वका कारण विश्वभर इन्धन संकट चुलिएको थियो। विश्व बजारमा अवस्था क्रमशः सहज हुँदै गए पनि नेपालमा भने ग्यासको अभाव झन् गहिरिएको छ। नेपाल आयल निगमले गत फागुनको अन्त्यमा ग्यास व्यवस्थापन सहज बनाउने उद्देश्यले आधा सिलिन्डर मात्र बिक्री वितरण गर्ने निर्णय गरेको थियो। त्यसपछि असारको अन्त्यमा पुनः भरी सिलिन्डर बिक्री गर्न थालिएको थियो। त्यसयता ग्यास संकट थप चुलिएको छ।
तर, ग्यासको यो संकट केवल आधा सिलिन्डर वितरणको निर्णयले मात्र निम्त्याएको होइन। यसको मुख्य कारण कमजोर आपूर्ति व्यवस्थापन रहेको छ।
