काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले स्थापनाको नौ वर्षमा ४ हजार ६४५ किलोमिटर सडक निर्माण गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको स्थिति पत्रअनुसार यस अवधिमा १ हजार १६ किलोमिटर सडक कालोपत्रे, १ हजार ५८४ किलोमिटर ग्राभेल र २ हजार ४५ किलोमिटर कच्ची सडक निर्माण भएका छन्।
आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्मको प्रगति विवरण सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाट ‘सरल’ ले यस अवधिमा कुल ८८ अर्ब ७३ करोड बजेट विनियोजन भएकोमा ६४ अर्ब ७९ करोड रुपैयाँ खर्च भएको जानकारी दिए। प्रदेशमा यस अवधिमा ६९ पक्की र ४१ झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्।
सिँचाइतर्फ सतह, भूमिगत र नयाँ प्रविधिबाट हजारौँ हेक्टरमा सुविधा विस्तार भएको छ भने खानेपानीतर्फ १ हजार ४४८ आयोजना सम्पन्न हुँदा ५ लाख ७१ हजार ८५ जना लाभान्वित भएका छन्। मन्त्रालयले ५ हजार ३४६ वटा निजी आवास र २५ वटा एकीकृत आवास निर्माण गरेको छ। यातायात व्यवस्थापनतर्फ प्रदेशमा १ लाख ११ हजारभन्दा बढी सवारी साधन दर्ता भएका छन्।
मन्त्री भाटले भौतिक पूर्वाधारमा प्रगति भए पनि ९ वटा गौरवका आयोजना र ३१ वटा बहुवर्षीय आयोजना रुग्ण अवस्थामा रहेको स्वीकार गरे। ‘आयोजना छनोट र बजेट विनियोजनमा स्पष्ट मापदण्ड नहुनु, भौगोलिक विकटता, पहिरोको जोखिम, कडा चट्टान र बारम्बार डिजाइन परिमार्जन गर्नुपर्ने अवस्था हाम्रा प्रमुख चुनौती हुन्,’ उनले भने। मन्त्रालयका अनुसार ८ हजारभन्दा बढी साना आयोजना हुनु कार्यान्वयनको अर्को समस्या हो।
प्रदेशको स्थायी राजधानी निर्माणको काम चालू आर्थिक वर्षबाटै अगाडि बढाइने प्रतिबद्धता मन्त्री भाटले व्यक्त गरे। आगामी दिनमा आयोजना जीवन चक्रको अवधारणा लागू गर्ने र रणनीतिक सडकलाई प्राथमिकतामा राख्ने मन्त्रालयको योजना छ।
