Logo

असारका लागि पनि घट्यो ब्याजदर

अ+ अ-

काठमाडौँ- पछिल्लो समय ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैङ्कहरूले असारका लागि पनि घटाएका छन् ।

वाणिज्य बैङ्कले असारका लागि ब्याजदरको सूचना प्रकाशित गर्दै ब्याजदर केही घटाएको जनाएका छन् । बैङ्कहरूले प्रकाशित गरेको सूचना अनुसार औसत ब्याजदर जेठको तुलनामा असारमा केही घटेको छ ।

जेठमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ५.९५२ प्रतिशत विन्दुमा रहेकामा असारका लागि ०.०५ प्रतिशतले घटेर ५.९०२ प्रतिशत विन्दुमा झरेको छ ।

सञ्चालनमा रहेका २० मध्ये १५ बैङ्कले जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने पाँच बैङ्कले घटाएका छन् । जसका कारण औसत ब्याजदर पनि घटेको छ । असारका लागि ब्याजदर घटाउने बैङ्कमा कृषि विकास बैङ्क, कुमारी बैङ्क, एनएमबी बैङ्क, एभरेस्ट बैङ्क र एनआइसी एसिया बैङ्क रहेका छन् ।

असारमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर एभरेस्ट बैङ्क र एनआइसी एसिया बैङ्कले प्रदान गरेका छन् । यी दुवै बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन् । यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैङ्कमा भने कृषि विकास बैङ्क र नेपाल बैङ्क रहेका छन् । कृषि विकास बैङ्क र नेपाल बैङ्कको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ ।

ब्याजदर घटाउँदै जाँदा बैङ्कको बेस रेट पनि घट्दै जान्छ र कर्जाको ब्याजदर पनि घट्छ । ब्याजदर घट्दा कर्जा लिनेलाई भने निकै ठुलो राहत हुन्छ । ब्याजदर घट्दा लगानीको वातावरण बनाउन भने सहयोग पुग्ने देखिन्छ ।

सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैङ्कमा कामना सेवा, ज्योति, गरिमा, लुम्बिनी, मुक्तिनाथ र गरिमाले जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी बैङ्कले जेठकै व्यक्तिगत मुद्दती निक्षेप अधिकतम ब्याजदर ६.५० प्रतिशतलाई असारमा निरन्तरता दिएका हुन् ।

साङ्ग्रिलाले भने जेठको ब्याजदर ६.२५ प्रतिशतलाई घटाएर असारमा ६.१६ प्रतिशत कायम गरेको छ भने महालक्ष्मीले छ प्रतिशतबाट बढाएर ६.१५ प्रतिशत कायम गरेको छ ।