काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँभन्दा बढी नलिने व्यवस्था मिलाउन उद्योगीहरूलाई आग्रह गरेको छ।
संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार, असोज २ गतेदेखि लागू हुने गरी सो मूल्यमा ग्यास बिक्री वितरण गर्न निर्देशन दिएको हो।
संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा ग्यास उद्योगीहरूलाई निगमले तोकेको मूल्यमा मात्र ग्यास बिक्री गर्न र आफ्ना बिक्रेताहरूलाई सोही अनुसार जानकारी गराउन भनिएको छ।
यसअघि भदौ १४ गते त्रिशूली नदीको बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि ग्यास आपूर्तिमा समस्या देखिएको थियो। त्यस समयमा उद्योगीहरूले वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ओसारपसार गर्नुपर्दा ढुवानी खर्च बढेको भन्दै संघले भदौ १८ गते प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न अनुरोध गरेको थियो।
हाल अवरुद्ध सडक खण्डमा वैकल्पिक बाटो सञ्चालनमा आएसँगै ग्यास बुलेटहरू पुनः काठमाडौं आउन थालेका छन्। ढुवानी सहज भएसँगै संघले ग्यासको मूल्य साविककै दरमा कायम गर्न उद्योगीहरूलाई आग्रह गरेको हो।
