काठमाडौँ। संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपाय सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री, नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत निर्देशनालय, कार्यक्रम तथा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्याय सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ
यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बाढी तथा पहिरो प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट, धादिङ) मा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनःस्थापना तथा पुनर्निर्माणका साथै पुनर्निर्माणको लागि आवश्यक लगानी व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
