काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूसालसँग भेटवार्ता गरेको छ। असोज ७ गते भएको उक्त भेटमा रसुवामा गएको बाढीले अटोमोबाइल क्षेत्रमा पुर्याएको क्षतिबारे छलफल भएको नाडाले जनाएको छ।
भेटका क्रममा अध्यक्ष उप्रेतीले भदौ १० गते रसुवा र टिमुरे क्षेत्रमा गएको भीषण बाढीका कारण दशैँको सिजनका लागि चीनबाट आयात गरिएका सयौँ सवारीसाधन बगाएको जानकारी दिएका थिए। उनले पीडित पैठारीकर्ताहरूलाई सरकारका तर्फबाट उपलब्ध गराइनुपर्ने राहतका कार्यक्रमहरू छिटो कार्यान्वयन गर्न आग्रह गरेका छन्।
नाडाका महासचिव मिलनबाबु मल्लले चीनसँगको सीमा नाका नखुल्दा पाँच सयभन्दा बढी सवारीसाधन बाटोमै रोकिएको भन्दै सहजीकरणका लागि अनुरोध गरे। साथै, उनले ११ सिटे विद्युतीय माइक्रोबसहरू भन्सारबाट नछुटेको विषयमा पनि ध्यानाकर्षण गराएका छन्।
जवाफमा महानिर्देशक भूसालले पीडित व्यवसायीहरूलाई प्रदान गरिने राहत र सहुलियतको मोडालिटीबारे अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबीच गृहकार्य भइरहेको जानकारी दिएका छन्। उक्त छलफलमा नाडाका उपाध्यक्षहरू अभिक ज्योति र विक्रम सिंघानिया तथा सचिव मेघराज पौडेलको उपस्थिति रहेको थियो।
