काठमाडौं: संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको उच्चस्तरीय सत्रलाई प्रधानमन्त्रीले शुक्रबार बिहान सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार न्युयोर्कको स्थानीय समयअनुसार बिहीबार दिउँसो ३ बजे सुरु हुने सत्रमा नेपालका तर्फबाट सम्बोधन हुनेछ। नेपाल र न्युयोर्कको समयमा ९ घण्टा १५ मिनेटको फरक रहेकाले नेपाली समयअनुसार यो सम्बोधन शुक्रबार बिहान ५ देखि ६ बजेको आसपासमा हुनेछ।
सचिवालयले विश्वभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको लामो सूची रहेकाले अघिल्ला वक्ताहरूको समयसीमाका आधारमा नेपालको पालो केही समय तलमाथि हुन सक्ने जनाएको छ। प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, दिगो विकास लक्ष्य प्राप्ति, अल्पविकसित देशबाट स्तरोन्नतिको मार्गचित्र तथा जलवायु परिवर्तनका कारण नेपालले भोगेका विपद् र त्यसको क्षतिपूर्तिका विषयलाई प्राथमिकताका साथ उठाउनेछन्। उक्त सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक वेब टीभीबाट प्रत्यक्ष प्रसारण हुनेछ।
