काठमाडौं। सरकारले बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै आम उपभोक्तालाई आवश्यकताभन्दा बढी सामान सञ्चय वा भण्डारण नगर्न आग्रह गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैङ्कमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जानकारी दिएको छ। मन्त्रालयले बाढी, पहिरो वा अन्य कुनै कारणले प्रमुख राजमार्ग वा आपूर्ति मार्गहरू अवरुद्ध भएमा वैकल्पिक मार्गहरू प्रयोग गरी अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिने व्यवस्था मिलाइएको स्पष्ट पारेको छ।
मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा विपद् र चाडपर्वको मौका छोपी हुनसक्ने कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक रूपमा मूल्य वृद्धि गर्ने र अनुचित रूपमा वस्तु लुकाउने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न बजार अनुगमनलाई थप सघन बनाइएको उल्लेख छ।
